राष्ट्रिय बीमा बोर्ड दुई साता देखि प्रमुख विहीन
काठमाडौँ, ५ बैशाख । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने निकाय राष्ट्रिय बीमा बोर्ड पछिल्लो दुई साता देखि नेतृत्व विहीन छ । खटाइएका कार्यकारी निर्देशक जान नमानेपछि बोर्ड नेतृत्व बिहीन भएको हो ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गत १९ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै विमाका कार्यकारी निर्देशक रहेका डा. गुणराज लोहनीलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेबारी दिदै सरुवा गरेकी थिइन । बीमा बोर्डको जिम्मेबारी स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत डा. श्रीकृष्ण गिरीलाई दिएकी थिइन ।
तर डा. गिरीले सो ठाँउमा आफ्ना लागि अनुपयुक्त भएको भन्दै सो ठाँउमा जान मानेका छैनन् । नेपाली हेल्थसंगको कुराकानीमा डा. गिरीले आफू बीमामा नगई बीर अस्पतालमै फर्कने बताएका छन् ।
डा. गिरी नगएपछि बोर्डमा निमित्त निर्देशकको जिम्मेबारी डा. भुवन पौडेलले पाएका छन् । तर उनको अधिकार सामान्य रुपमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने गराउने मात्रै रहेको छ ।
‘आर्थिक अधिकार छैन । ३३ जिल्लामा कार्यक्रम पुगिसकेको छ । असार मसान्तसम्म अरु थप ७ जिल्लामा कार्यक्रम विस्तार गर्ने हाम्रो लक्ष्य छ । कार्यक्रम सुरु भइसकेका कतिपय जिल्लामा तालिम दिइ हाल्नुपर्ने अवस्था छ । तर आर्थिक कारणले त्यो समेत रोकिएको छ । तत्कालै प्रमुख नआउने हो बीमा कार्यक्रमलाई अरु थप अप्टेरो पर्नसक्छ,’ निमित्त निर्देशक डा. पौडेलले भने ।
बीमा बोर्डमा कार्यकारी निर्देशकको रुपमा सरुवा गरिएका डा, गिरीले भने आफू सो जिम्मेबारीमा नजाने बताए । ‘मलाई त्यहाँ सरुवा गरिएको रहेछ । तर म त्यहाँ जान्न,’ नेपाली हेल्थसंग उनले भने, ‘मेरो एक्सपर्टीज त्यहाँ होइन । मैले त्यहाँ गएर रिजल्ट दिन पनि सक्छु जस्तो लाग्दैन । बरु म त बीरमै काम गर्ने हो । बीर नै फर्कने हो ।’
निमित्त निर्देशक डा. पौडेलले केही जिल्लाहरुमा भर्खरै बीमामा दर्ता शुरु गरिएको र जेठ देखि उपचार सेवा लागू गर्ने योजना भएपनि कार्यकारी निर्देशक नहुँदा त्यसको सरुवात गर्न ढिलाई भएको बताए । ‘तालिम दिनुपर्ने छ । अरु धेरै सम्झौँता गर्नुपर्नेछ । तत्काल कार्यकारी निर्देशक भएन वा आर्थिक अधिकारको व्यवस्था हस्तान्तरण गरिएन भने ती कार्यक्रमहरु प्रभावित हुनेछन्,’ डा. पौडेलले भने ।
यी हुन् असारसम्म बीमा कार्यक्रम हुने भनिएका थप ७ जिल्ला
दुई बर्षको अवधीमा अर्थात २५ चैतसम्म सरकारले ३३ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । तर यसै आर्थिक बर्षको अन्त्यसम्म थप ७ जिल्ला बीमा विस्तार गर्ने सरकारको लक्ष्य छ । ती जिल्लाहरुमा पर्सा, बझाङ, कालिकोट, मुगु, डोल्पा, हुम्ला र सिरहा छन् ।
कार्यकारी निर्देशकको आगमनमा ढिलाई भइरहँदा यस आर्थिक बर्षमा सञ्चालन गरिने भनिएका यी जिल्लामा बीमा कार्यक्रम शुरु गर्न अप्ठेरो पर्नसक्ने कर्मचारीहरु बताउँछन् ।
सम्पर्क इमेल : [email protected]