नेपाल मेडिसिटी अस्पतालमा नगदरहीत स्वास्थ्य बीमाको शुरुवात
काठमाडौँ, २८ चैत । स्वास्थ्य अब नेपालीहरुको पहुँचमा भन्ने नारा सहित नेपालमा पहिलो पटक अस्पताल र बीमा कम्पनीबीच बृहद् सहकार्य भएको छ । नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्सबीच नेपालीहरुलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्न बृहत सहकार्य भएको हो ।
यो सहकार्यमा अव बार्षिक १ हजार २५० रुपैयाँ प्रिमियम तिरेर प्रिमियम इन्स्योरेन्समा बीमा गर्नेले बार्षिक ५० हजार रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् । यस्तै बार्षिक २५ हजार रुपैयाँ प्रिमियम बुझाउँनेले १० लाख रुपैयाँ सम्मको उपचार लिन सक्नेछन् ।
बुधबार एक विशेष समारोहकाबीच नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले सो सम्वन्धी सम्झौँतापत्रमा हस्ताक्षर गरे ।
सोही कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले विश्वका धेरै देशहरुमा स्वास्थ्य बीमाको माध्यमबाट सुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको र थोरै देशहरुमा मात्र नगद रहित स्वास्थ्य बीमा सेवा रहेको बताए ।
उनले भने, ‘सामान्य त स्वास्थ्य बीमामा बिरामीहरुले अस्पतालमा रकम भुक्तानी गरी त्यसको भुक्तानीका लागि बीमा कम्पनीहरुलाई पठाउने र बीमा कम्पनीहरुले काँटछाट गरी लागेको रकम भन्दा कम भुक्तानी गर्नै प्राय परिपाटी देखिन्छ तर नेपाल मेडिसिटीमा बिरामीले खरीद गरेको पोलिसी अनुसार नगद भुक्तानी गर्नु नपर्ने गरी सेवा उपलव्ध गराइएको छ ।’
यता प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले स्वास्थ्य बीमालाई अभियानको रुपमा देश व्यापी बनाउन आफूहरुले नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गरेको बताए । उनले यो कार्यक्रमले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले बताए ।
आम नेपालीहरुलाई सर्ब सुलभ रुपमा उपचार गराउने चाहना अनुरुप नेपाल मेडिसिटी अस्पतालले शुभारम्भ गरेको यस नगदरहित स्वास्थ्य बीमा लाई जनस्तरसम्म पुरयाई बढी भन्दा बढी नेपालीहरुलाई यस योजनामा समाहित गराउनु पर्ने नेपाल मेडिसिटी अस्पतलाका निर्देशक डा सुनिलकुमार शर्माले बताए ।
यस बीमा अन्तरगर्त सम्पूर्ण नेपालीलाई सहज र सुलभ सेवा प्रदान गर्नका लागि क्यासलेस सुविधा मार्फत अस्पताल र इन्स्योरेन्स कम्पनीले सम्झौँता पत्र तयार गरी सोही अनुरुप कार्य गर्ने बनाइएको छ । जस अन्तरगर्त सेवा लिने ग्राहकले नगदको प्रभाव नगरी सिधै अस्पतालमा भर्ना भई लिएको सेवाको आधारमा उपचार लिन सक्नेछन् ।