स्वास्थ्य मन्त्रालय प्रवेश गर्ने २० जनाले फ्याँके सूर्तिजन्य पदार्थ
काठमाडौँ, २३ चैत । स्वास्थ्य मन्त्रालय परिषरमा सूर्तिजन्य पदार्थको प्रयोग गर्न मात्रै होइन खल्तीमा बोकेरै जान पनि प्रतिवन्ध लगाइएको छ । तर कतिपयले अहिले पनि खल्तीमा सूर्ति चुरोट बोकेर जाने गरेको पाइएको छ ।
सूर्तिजन्य पदार्थको खान तलासी गर्न गेटमा बसेका सुरक्षाकर्मीले बुधबार मात्रै मन्त्रालय प्रवेश गरेका कर्मचारी तथा सेवाग्राहीबाट ५ प्याकेट चुरोट र १५ प्याकेट सूर्ति फेला पारेका छन् ।उनीहरुलाई सुरक्षाकर्मीले गेटमा राखेको बाल्टीमा सूर्तिजन्य पदार्थ फ्याँकेर मात्रै मन्त्रालय प्रवेश गर्न दिइएको छ ।
नीतिको कार्यान्वयन आफैबाट सुरु गर्ने भन्दै गत साता स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सूर्तिजन्य पदार्थ बोकेर मन्त्रालय छिर्न नपाउने उदघोष गरेकी थिइन । लिएर आएकाहरुलाई सुरक्षाकर्मीले खान तलासी गर्ने समेत बताएकी थिइन । त्यस लगत्तै सुरक्षाकर्मीहरुले सूर्ति जन्य पदार्थको खान तलासी सुरु गरेका हुन् ।
‘शुरुमा मन्त्रालयको बाहिरी गेटमा बसेर नाम दर्ता गर्ने र आउनेहरुलाई मौखिक रुपमा सोध्ने गरेका थियौँ । तर गाडी र मोटरसाइकलमा आउनेहरुसंग सो प्रक्रियामा छुट्न गए । त्यसैले आज देखि भित्रको मुलगेटमै बसेर मन्त्रालय आउनेहरुसंग शरीरको खान तलासी लिन थालेका छौँ,’ नेपाल प्रहरीका हवल्दार चन्द्रप्रसाद हमालले भने ।

उनले विहीबार मात्रै मन्त्रालय छिर्ने करीब २० जनाबाट सूर्तिजन्य पदार्थ बरामद गरिएको बताए । पाँच प्याकेट चुरोट र १५ पोका जति सूर्ति थियो । ल्याउनेहरु अधिकांश बाहिरबाट आएका सर्वसाधारण र केही मन्त्रालयकै कर्मचारी समेत रहेको बताए ।
प्रहरीले सर्वसाधारण देखि मन्त्रालयका कर्मचारीलाई समेत खानतलासी लिने गरेको छ । त्यसका लागि मन्त्रालयले दुई दुई जना गरी पुरुष र महिला प्रहरीलाई मुल गेटमा खटाएको छ । पुरुषहरुलाई पुरुष प्रहरीले र महिलाहरुको लागि महिला प्रहरीले खान तलासी लिने गरेको छ ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ ।
सोही ऐनको कार्यान्वनय गर्न भन्दै मन्त्रालयमा सूर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी गतिविधि अघि बढाइएको छ ।
सम्पर्क इमेल : [email protected]