‘पाठेघरको मुख र स्तन अर्बुद शिविर देशैभरी हुने’

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ कालिका बजारमा रहेको जनकल्याण माविमा दिवङ्गत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा आइतबार आयोजित पाठेघर र स्तन क्यान्सर जाँच शिविरमा परीक्षणका लागि लामबद्ध महिलाहरु । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर, १८ चैत । खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको गरेकी छन् ।

आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको सो कार्यक्रममा मन्त्री मगरले महिलाले रोग लुकाएर बस्नु नपर्ने उल्लेख गर्दै एक पटक जाँच गरे पाँच वर्ष ढुक्क बस्न सकिने र रोग भए नभएको बारे यकिन हुने बताए ।

“क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा पति प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो”, मन्त्री मगरले भनिन्, “उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ ।”

शिविर सञ्चालन समितिका संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निःशुल्क औषधिसमेत व्यवस्था गरिएको बताइन । क्यान्सर अस्पतालका निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुख र स्तनको अर्बुद हुनुअघि नै जाँच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट बच्न सकिने बताइन ।

पुनर्वास र बेलौरी नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा हुने शिविर १ नं निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाँडीमा समेत सोमबार र मंगलबार सञ्चालन गरिने छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *