इएनटी उपचारका लागि पुरानो मेडिकल कलेजले भित्र्यायो नयाँ प्रविधि
चितवन, १७ चैत । भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले नाक, कान र घाँटी (ईएनटी) को शल्यक्रियामा नयाँ प्रविधि भित्र्याएको छ । ‘एड्भान्स ईन्डोस्कोपिक सर्जरी’ भनिने नयाँ प्रविधि भारतका वरिष्ठ चिकित्सक डा मुबारक खानले ५ वर्ष अघि आविश्कार गरेका हुन् । उनको यो प्रविधि अहिले भारत तथा युरोपका विभिन्न देशहरुमा प्रख्यात छ ।
नेपालमा यो प्रविधि भित्र्याउने आफूहरु पहिलो भएको दावी गर्ने पुरानो मेडिकल कलेज शिक्षण अस्पतालले बिहीबार र शुक्रबार यहि प्रविधिबाट ८ जनाको शल्यक्रिया गरेको छ । शल्यक्रिया गर्न प्रविधिका आविश्कारक डा. मुबारक खान आफै आएका थिए । उनले सो प्रविधिबाट लाइभ शल्यक्रिया गरेका थिए ।
अस्पतालका ईएनटी विभागका प्रमुख डा. जयप्रकाश मैयाँले एड्भान्स ईन्डोस्कोपिक सर्जरी मेसिनले इएनटीको उपचारमा अत्याधुनिक प्रविधियुक्त मेसिन भएको बताए ।
उनले यस्तो मेसिन ल्याउने पुरानो मेडिकल कलेज शिक्षण अस्पताल नेपालकै पहिलो भएको दावी समेत गरे । उनले ईन्डोहोल्डर, स्लाईस ईट प्रविधि र कुरकुरे हड्डी काटेर कानको जाली टाल्ने सजिलो हुने भनिएको यो प्रविधिबाट गरिएको शल्यक्रिया ९८ प्रतिशत सफल हुने समेत बताए ।
अस्पतालका अर्र्का डाक्टर विकास पाण्डे भन्छन्, ‘यसअघिसम्म एक हातले माईक्रोस्कोप समातेर एक हातले शल्यक्रिया गर्नुपर्ने अवस्था थियो तर यो प्रविधि आएपछि अब स्वचालित मेसिनबाटै ईन्डोस्कोपिक सर्जरी गर्न सकिन्छ । स्वचालित मेसिनले सहयोग गर्दा आफ्ना दुई हातले नै शल्यक्रियामा प्रयोग गर्न सकिन्छ ।’
सो अवसरमा अस्पतालले कानको जाली प्वाल परेका बेला कुरकुरे हड्डी काटेर आवश्यक आकारमा ढाल्न सक्ने प्रविधिको समेत प्रयोग गरेर देखाईएको थियो ।
बिहीबार देखि शुरु भएको शल्यक्रिया अन्तरगत पाँच वटा कानको, दुई वटा नाकको र एउटा घाँटीका बिरामीको शल्यक्रिया गरिएको थियो । अस्पतालका बरिष्ठ बजार तथा जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले बिहीबार ४ वटा र शुक्रबार ४ वटा शल्यक्रिया भएको बताए ।
अस्पतालले भित्र्याएको नयाँ प्रविधिले गर्ने शल्यक्रियाको शुक्रबार अप्रेशन थिएटरबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । अपरेशन थिएटरमा चिकित्सकले गरेको शल्यक्रिया हलमा बसेका चिकित्सक, सञ्चारकर्मी तथा विरामीका आफन्त बसेर हेरेका थिए ।
सो क्रममा हलमा बसेका चिकित्सक र शल्यक्रियामा सहभागी चिकित्सक डा खानबीच केशका बारेमा सवाल जवाफ भइरहेको थियो ।
शल्यक्रियामा डा खानाको नेतृत्वमा भरतपुर मेडिकलक कलेज ईएनटी विभाग प्रमुख डा जयप्रकाश मैयाँ, डा अपार पोखरेल, डा विकास पाण्डे र डा छायाँ भण्डारी सहभागि थिए ।
सम्पर्क इमेल : [email protected]