विपन्नको कोटामा उपचार लिने पहुँचवाला

विराटनगर ११ चैत । सरकारले अति विपन्न एवं असहायको स्वास्थ्योपचारमा तोकेको छुट सुविधा पहुँचवाला वा टाठाबाठाले उपभोग गरिरहेको पाइएको छ ।

कोसी अञ्चल अस्पतालस्थित सामाजिक सेवा एकाइको कार्यालयबाट यस्तो सुविधा पाउनेमा लक्षित वर्गका सेवाग्राही मुस्किलले १ प्रतिशत मात्र छन् । अरू सबै राजनीतिक, सरकारी र सामाजिक रूपमा पहुँच भएकाहरू नै छन् ।

सरकारले असहाय, अति गरिब, निमुखा, टुहुरा, लैंगिक हिंसाबाट पीडित र ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचारमा सहुलियत व्यवस्था गरेको छ । अपांग, ज्येष्ठ नागरिक र एकल महिलाको हकमा सरकारले जारी गरेको परिचयपत्र र विपन्नलाई स्थानीय निकायको सिफारिसका आधारमा सुविधा दिने नियम छ ।

तर, यी प्रावधानभन्दा भनसुनकै आधारमा सेवासुविधा वितरण भइरहेको छ । राजनीतिक र प्रशासनिक तहमा पहुँच भएकाहरूले कुनै कागजातै पेस नगरी उपचारमा छुट लिइरहेको अस्पतालका कर्मचारी बताउँछन् । ‘विभिन्न दलका नेता, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, चिकित्सक र वरिष्ठ अधिकारीबाटै सिफारिस आएपछि छुट दिनैपर्छ,’ एक कर्मचारीले भने, ‘पाउनुपर्नेलाई यसबारे थाहै छैन, नपाउनुपर्नेले लिइरहेका हुन्छन् ।’

सरकारी योजनाअन्तर्गत लक्षित सेवाग्राहीलाई औषधोपचारमा न्यूनतम २५ देखि शतप्रतिशतसम्म छुट दिने व्यवस्था छ । कोसी अस्पतालको प्रवेशद्वार पार गर्नबित्तिकै देखिने आकस्मिक कक्षछेउको कार्यालयमा छुट सुविधा लिन आउनेको लाम कतिबेलै टुट्दैन । तर, जसका लागि सुविधा तोकिएको हो, उनीहरूलाई नै यसबारे जानकारी छैन ।

दुई दशकदेखि अस्पताल धाइरहेका सुनसरीको बर्जु गाउँपालिका–६, चिमडीका गरिब किसान ५५ वर्षीय नागेश्वर मेहताले यस्तो सुविधाबारे अनभिज्ञता दर्शाए । सोमबार बिहान उनी कक्षा–५ मा अध्ययरत छोरा १३ वर्षीय पंकजलाई जँचाउन पुर्जी कटाएपछि चिकित्सक पर्खिरहेका थिए । ‘अहिलेसम्म नियमअनुरूप लाग्ने शुल्क तिरेरै उपचार गराइरहेको छु,’ उनले भने, ‘छुट सुविधा पाएको छैन, कहाँ जानुपर्छ भन्ने पनि थाहा छैन ।’

पक्षघातबाट पीडित पत्नीलाई लामो समयदेखि अस्पताल ल्याइरहेका मोरङको सुनवर्षी नगरपालिका–२, अमरदहका ४९ वर्षीय किसनदेव शर्माले पनि यस्तो सुविधाबारे पहिलोपटक सुनेको बताए । उनी कृषि मजदुर हुन् । ‘म त ऋण लिएर श्रीमतीको उपचार गराउँदै छु,’ पुर्जी काउन्टरमा लाम लागेका उनले भने ।

दुर्गम त परको कुरा, सहरी क्षेत्रकै नागरिकसमेत सुविधाबारे अनभिज्ञ पाइएका छन् । हातमा सियो पसेर उपचारका लागि आएका विराटनगर–१, शान्ति चोकका सिलाइ मजदुर २४ वर्षीय समीर मोहम्मद तिनैमध्ये पर्छन् । ‘अस्पतालभित्रै विपन्नलाई छुट सुविधा छ भन्ने अहिलेसम्म थाहा थिएन,’ उनले भने ।

कार्यालयको रेकर्डमा अस्पतालको अन्तरंग, बहिरंग र आकस्मिक कक्षमा आएकामध्ये दैनिक औसत ७० जनाले छुटका लागि फाराम भरेको देखिन्छ । २०७१ देखि सुरु यो सेवाअन्तर्गत झन्डै १ करोड रुपैयाँ खर्च भइसकेको तथ्यांक छ । कार्यालयका सहजकर्ता बन्दु पहाडीले सेवाग्राहीमा धेरैजसो ग्रामीण क्षेत्रका र त्यसमा पनि ६० प्रतिशत पुरुष हुने गरेको बताए । सेवाग्राहीको सहयोगका लागि कार्यालयमा तीन पुरुष र तीन महिला सहजकर्ता राखिएका छन् ।

छुट सुविधाबारे स्थानीय एफएम रेडियोमार्फत निरन्तर प्रचारप्रसार भइरहेको पहाडीले बताए । ‘दैनिक आलोपालो बहिरंग, अन्तरंग र आकस्मिक कक्ष घुम्छौं, दयनीय स्थितिका बिरामी फेला परे यहाँ ल्याएर छुट फाराम भरिदिन्छौं,’ उनले भने, ‘साँच्चिकै पीडितजस्तो लागे आफैं चिकित्सकहाँ पुर्‍याएर उपचार गराउँछौं ।’

अढाई दशकदेखि उक्त अस्पतालमा सेवारत ५० वर्षीय आइतबहादुर लिम्बूले आर्थिक अभावमा उपचार नपाई अलपत्र परिरहेका दैनिक ३र४ बिरामीलाई आफूले पनि सामाजिक सेवा एकाइ कार्यालय पुर्‍याइदिने गरेको बताए । ‘कसैकसैलाई मैले पनि डाक्टरसम्म पुर्‍याएको छु,’ उनले भने, ‘यस्तो सेवाको फाइदा लिनेमा चलाख बढी हुन्छन्, सिधासादाले थाहा नै पाउँदैनन् ।’

गरिब र असहायलाई तोकिएको सुविधा लिनेमा अधिकांश स्थानीयदेखि केन्द्र तहकै नेतासम्म पहुँच भएकाहरू र सोर्सफोर्सवालाहरू नै रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मेसु डा. रोशन पोखरेलले स्वीकारे । दलका नेता र उच्च ओहदामा रहेकाहरूबाट आफूनिकटकालाई छुट सुविधा दिन हरेक दिनजसो दबाब आउने गरेको उनले बताए । ‘तर, सहयोग माग्ने जोकोही भए पनि खाली हात फर्काएका छैनौं, कम्तीमा ५० प्रतिशत छुट दिएकै छौं,’ पोखरेलले भने, ‘कसैले नचिने पनि अस्पताल प्रशासनसम्म आइपुगेका गरिबले अवश्य सहयोग पाउँछन् ।’ सेवाबारे सञ्चारमाध्यमबाट प्रचारप्रसार साथै अस्पताल कर्मचारीहरूले पनि सहजीकरण गरिरहेको उनको भनाइ छ ।

सरकारले अति विपन्नको उपचारका लागि अस्पताललाई वार्षिक ४० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

तर, वार्षिक भन्डै ९० लाखदेखि १ करोड रुपैयाँ हाराहारीमा खर्च हुने गरेको मेसु पोखरेलले दाबी गरे । ‘बाँकी रकम अस्पताल विकास समितिले बेहोर्नुपरिरहेको छ,’ उनले भने, ‘त्यसैले सरकारसँग थप बजेट मागेका छौं ।’

  • आजको कान्तिपुरमा जितेन्द्र साहको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *