पन्ध्र महिनादेखि तलब नपाएको भन्दै जानकी मेडिकल कलेजमा पुनःआन्दोलनको घोषणा

धनुषा, २९ वैशाख । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा पुनः कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् ।

विगत १५ महिनादेखि तलब नपाएको भन्दै आजदेखि अस्पतालको आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।

गत बिहीबार बसेको प्राध्यापक, चिकित्सकलगायत सम्पूर्ण कर्मचारीको बैठकले आन्दोलनमा जाने निर्णय गर्दै आजदेखि हडताल गरेका छन् ।

पन्ध्र महिनाको पारिश्रमिक र नयाँ तथा पुरानो वृद्धि सञ्चयकोषको तलब भत्ता उपलब्ध नगराई सञ्चालक पक्षले श्रम शोषण गरिरहेको कर्मचारीले आरोप लगाएका छन् ।

आगामी जेठ २ गतेदेखि आकस्मिक सेवासमेत बन्द रहने र थप बन्द हडतालसहित सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने कर्मचारी हकहित सङ्घर्ष समितिका अध्यक्ष मकेश्वर यादवले जानकारी दिए ।

कर्मचारीले तलब नपाएकै कारण मेडिकलद्वारा जनकपुरको ब्रह्मपुरीमा सञ्चालित जानकी मेडिकल सिटी अस्पताल पनि विगत चार महिनादेखि बन्द रहेको छ । कर्मचारीहरुले उक्त अस्पतालमा चार महिनाअघि तालबन्दी गरेका थिए ।

जानकी मेडिकल कलेजमा कार्यरत ४०० भन्दा बढी कर्मचारीको झन्डै रु १५ करोड तलब भत्ता बाँकी रहेको छ । समयमा तलब भत्ता नदिँदा मेडिकल कलेजमा तालाबन्दीसहित आन्दोलनका कार्यक्रम पहिलेदेखि नै हुँदै आएकाले मेडिकलको अवस्था धरासायी हुँदै गएको छ ।
बेलाबेलामा विभिन्न कारणले विवादमा आइरहेको यस जानकी मेडिकल कलेज मेडिकल काउन्सिलको न्यूनतम मापदण्ड पूरा नगरेपछि काउन्सिलले यस जानकी मेडिकल कलेजलाई गत तीन वर्ष भर्ना अनुमतिसमेत दिएको थिएन । यद्यपि यस वर्ष राजनीतिक दबाबमा यस शैक्षिकसत्रमा ८० सिट पाएको छ ।

सन् २००३ देखि नै प्रथम ब्याच सुरु भएको यस कलेजमा बीचमा तीन वर्ष भर्ना अनुमति नपाउँदा कलेजको अवस्था नाजुक बन्दै गएको छ ।

विगतमा यस कलेजका सञ्चालकको झगडाका कारण तलब पाउन कर्मचारीले र पढाइ सञ्चालन गर्न विद्यार्थीले पटक पटक आन्दोलन गर्नुपरेको स्थित रहँदै आएको छ ।

रामजानकी स्वास्थ्य फाउन्डेसन प्रालिको पहलमा सञ्चालित यस जानकी मेडिकल कलेज अहिले हरिमान लामाको अध्यक्षतामा नयाँ व्यवस्थापनमा सञ्चालन भइरहेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा १६ बिगाहा क्षेत्रफलमा स्थापित कलेजको १६० बेडको एक अस्पताल रहेको छ जहाँ शैक्षिक गतिविधि र छात्रावास रहेको छ भने ३६५ बेडको अर्को सिटी अस्पताल जनकपुरको ब्रह्मपुरीमा सञ्चालन गरिएको छ ।

यस कलेजमा किस्तामा शुल्क बुझाउँदा रु ४२ लाख र एकमुस्ट शुल्क बुझाउने विद्यार्थीलाई रु ४० लाखमा भर्ना लिने गरेको प्रिन्सिपल डा हुकुमदेव साहले जनाएका छन्।

तर अहिले कर्मचारीले तलब नपाएको भन्दै विगत चार महिनादेखि जनकपुरको सिटी अस्पताल पनि बन्द रहेको छ भने आजदेखि रमदैयास्थित अस्पतालमा कर्मचारीले हडताल सुरु गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *