सुर्ती नियन्त्रणका लागि सरकारको महत्वपूर्ण घोषणा : एक बर्ष भित्रै ‘प्लेन प्याकेज’ लागू हुन्छ

काठमाडौँ, २५ बैशाख । नेपालले आगामी बर्ष देखि सुर्तीजन्य पदार्थको प्याकेटको सतप्रतिशत भागमा चेतावनीमुलक घातक चित्र सहितको स्वास्थ्य संदेश (प्लेन प्याकेज) लागू गर्ने भएको छ । स्वास्थ्य मन्त्री गगन थापाले सो घोषणा गरेका हुन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली स्तरीय नेतृत्व विकास तालिमको आज उद्घाटन गर्ने क्रममा सो घोषणा गरेका हुन् । उनले सन् २०१८ मा नेपालले प्लेन प्याकेजमा जाने र सन् २०३० सम्म ‘टोवाको फ्री जेनेरेशन’ बनाउने प्रतिवद्धता व्यक्त गरे । त्यसो त नेपाल अहिले पनि संसारमै सबैभन्दा पहिले ९० प्रतिशत भागमा घातक चित्रअंकित स्वास्थ्य संन्देश राख्नुपर्ने नियम बनाउने देशको रुपमा चिनिएको छ । यद्धपी यसको कार्यान्वनय कडाईको साथ हुन सकेको छैन् ।

मन्त्री थापाले सरकारले लागू गरेको सुर्तीजन्य पदार्थको कुल भागको ९० प्रतिशत चित्रअंकित स्वास्थ्य संन्देश राख्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने बताए ।

यसअघि बोल्दै द युनियन एसिया पेसेफिकका डेपुटी डाइरेक्टर डा तारासिह बमले नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि उत्कृष्ठ कानून बनाएको र थप प्रतिवद्धता व्यक्त गरेकोमा सरकारलाई बधाई दिदै कार्यान्वयनमा जोड दिन आग्रह गरे । उनले नेपालले सुर्तीजन्य पदार्थको कुल भागमा ९० प्रतिशत चित्रअंकित स्वास्थ्य संन्देश राख्ने नियम बनाएर अघिल्लो बर्ष अन्तराष्ट्रिय पुरस्कार समेत जितिसकेको भन्दै यसको सतप्रतिशत कार्यान्वयनमा भएको ढिलाई प्रति चिन्ता व्यक्त गरे । सुर्ती नियन्त्रणमा नेपालले चालेको कदम अन्य देशहरुले समेत नजिकबाट निहालिएको भन्दै उनले त्यसतर्फ सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोशले सुर्तीजन्य पदार्थ नियन्त्रणका अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै यसका लागि नेपालको उत्कृष्ठ प्रतिवद्धताको खुलेर प्रशंसा गरे ।

कार्यक्रम आयोजक मध्येको एक संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थकोे नियन्त्रण र नियमनका लागि सामुहिक प्रयासको विकास गर्न यो तालिमको आयोजना गरिएको बताए । उनले तालिमपछि सहभागीलाई सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि आवाज उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सात दिनसम्म चल्ने उक्त तालिममा दक्षिण एसियाका आठ देशका प्रतिनिधिहरु सहभागी छन् । स्वास्थ्य मन्त्रालय, जोन्स हप्किन्स ब्लुम्वर्ग स्कुल अफ पब्लिक हेल्थ, द युनियन र एक्सन नेपालको आयोजनामा तालिम हुन लागेको हो ।

तालिममा नेपाल, भारत,श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान र मालदिव्स सरकारी कर्मचारी, कानुन व्यवसायी, पत्रकार, सूूर्तीजन्य पदार्थको नियन्त्रणको क्षेत्रमा कार्यरत सरोकारवाला गरी ७२ जनाको सहभागिता छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *