चिकित्सकलाई ‘सीपीडी’ अनिवार्य गर्ने तयारीमा काउन्सिल

काठमाडौँ, २४ बैशाख । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई निकट भविस्य देखि नै निरन्तर पेशागत सीप विकास अर्थात कन्टिन्युयिङ प्रोफेसनल्स डेभेलपमेन्ट (सीपीडी) तालिम अनिवार्य गर्ने बताएको छ । बदलिदो समय, प्रविधि र नयाँ नयाँ रोगका चुनौतीसंग जुध्नका लागि सीपीडी तालिम आवश्यक भन्दै अनिवार्य गर्न लागेको जनाएको छ ।

सीपीडीको मोडल कस्तो हुने ? कसरी लागू गर्ने ? कहिलेदेखि लागू गर्ने ? लगायतका विषयमा सरोकारवालाहरुको सुझाव लिन भन्दै काउन्सिलद्धारा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले सीपीडी लागू गर्न धेरै ढिलो नहुने बताए ।

उनले काउन्सिलद्धारा गठित समितिले तयार पारेको मस्यौदालाई सरोकारवाला समक्ष प्रस्तुत गरेको भन्दै त्यहाँबाट आउने सुझावको आधारमा अन्तिम रुप दिएर तत्काल लागू गर्ने बताए ।

‘अहिले हामीले तय गरेको मोडलमा पाँच बर्षमा निश्चित अंक ल्याउने गरि जुनियर, सिनियर सबै खालका चिकित्सकलाई सीपीडी अनिवार्य गर्ने प्रस्ताव ल्याएका छौँ उनले भने, यसैको आधारमा चिकित्सकहरुको लाईसेन्स नविकरण हुन्छ’ प्राडा  बास्कोटाले बताए ।

उनले दुर्गम स्थानका चिकित्सकहरुलाई स्थानीय तहमै गएर तालिमको व्यवस्था गर्न योजना रहेको बताए ।सीपीडी मस्यौदा समितिका एक जना सदस्यले आगामी साउन देखि सीपीडी लागू गर्ने योजनामा काउन्सिल अघि बढेको जानकारी दिए ।

सीपीडी तत्काल लागू हुन सक्दैन : चिकित्सक संघ
यता नेपाल चिकित्सक संघले काउन्सिलले ल्याउन लागेको निरन्तर पेशागत विकास तालिम(सीपीडी) यथास्थितिमा लागू हुन नसक्ने ठोकुवा गरेको छ । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले शहरमा रहेका केही चिकित्सकलाई मात्रै लक्षित गरि सीपीडी ल्याइएको भन्दै दुर्गममा बसेर सेव ागर्ने चिकित्सकलाई यसले मर्का पार्ने बताए ।

‘दुर्गम स्थानमा एक दुई जना डाक्टरले जिल्ला धानेको अवस्था छ । उनीहरुले कहिले विरामी हेर्ने कहिले तालिम लिने त्यसैले यो हुनै नसक्ने कुरा हो । धेरै अघि देखि प्रयास गरेर लागू नभएको यो कार्यक्रम यथास्थितिमा फेरी पनि चल्दैन,’ डा श्रेष्ठले भने ।

काउन्सिलको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधी सहित प्रतिष्ठानका उपकुलपति, संस्थानका डीन, अस्पतालका निर्देशक, मेडिकल कलेजका प्रिन्सिपल, तथा नेपाल चिकित्सकसंघका प्रतिनिधीहरुको सहभागीता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *