धौलागिरि अञ्चल अस्पतालको आफ्नै ‘फार्मेसी’

 

बागलुङ, १५ वैशाख । धौलागिरि अञ्चल अस्पतालले आफ्नै औषधि वितरण केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले आफैँ ‘फार्मेसी’ चलाउनुपर्ने नियम बनाएको थियो ।

केन्द्रबाट ५६२ प्रकारका औषधि उपलब्ध हुने अस्पतालका प्रमुख चिकित्सक सागरकुमार राजभण्डारीले बताए । “चौबीसै घन्टा सेवा दिने गरी फार्मेसी खुलेको छ”, चिकित्सक राजभण्डारीले भने – “बिरामीले अब १० देखि ५० प्रतिशतसम्मको छुटमा औषधि पाउँछन् ।” केन्द्रमा उपलब्ध हुने औषधिको सङ्ख्या थप्दै जाने योजनामा अस्पताल छ । अस्पतालभित्रै ‘फार्मेसी’ खुलेपछि महँगो मूल्यमा बाहिरबाट औषधि किन्नुपर्ने बाध्यताबाट बिरामीले छुटकारा पाएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम र विपन्न नागरिकको उपचारका लागिसमेत सोही ‘फार्मेसी’ बाट निःशुल्क रुपमा औषधि वितरण हुनेछ । ‘फार्मेसी’को प्रभावकारिता बढाउन औषधि र जनशक्ति व्यवस्थापनमा अस्पताल लागिपरेको समितिका अध्यक्ष मल्लले बताए। उनले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पताल सुधारका प्रयास अघि बढेको समेत जानकारी दिए। “सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउनुपर्ने खाँचो छ”, अध्यक्ष मल्लले भने – “हामी त्यसकै लागि दिनरात खटेका छौँ ।”

उनले लामो समयदेखि रिक्त रहेका दरबन्दीमा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी खटेको बताए । अस्पतालमा अहिले फिजिसियन, स्त्रीरोग विशेषज्ञ, रेडियोलोजिस्ट, अर्थोपेडिक सर्जन, एनेस्थेसियोेलोजिस्ट, डेन्टल सर्जनलगायतका विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् ।

दरबन्दीअनुसार अझै पनि चिकित्सक र अन्य स्वास्थ्यकर्मीको अभाव छ । नियमित सेवाका अतिरिक्त केही नयाँ सेवा थप गरिएको अस्पतालले जनाएको छ । सुरक्षित गर्भपतन सेवालाई गत पुसदेखि निःशुल्क गरिएको प्रमुख चिकित्सक राजभण्डारीले बताए । हरि खड्का ट्रमा सेन्टर र डायलाइसिस सेवा सञ्चालनको तयारीमा अस्पताल रहेको छ ।

विसं २०६७ मा अञ्चल अस्पतालमा परिणत भएको यस अस्पतालको निर्माणाधीन भवन समयमै पूरा नुहँदा सेवा सञ्चालमा कठिनाइ भएको छ । भवनको ‘ए ब्लक’ बाट अस्पताल सञ्चालनमा आए पनि बाँकी ‘बी’, ‘सी’ र ‘डी’ ब्लक अहिले पनि निर्माणको चरणमा छन् । ठेकेदार कम्पनीको लापर्बाहीका कारण भवन निर्माणमा ढिलाइ भएको अस्पतालले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *