अपाङ्गता सम्बन्धि कार्ययोजना बनाउन सरोकारवालाबीच छलफल

काठमाडौँ, ४ बैशाख । स्वास्थ्य सेवा विभाग कुष्टरोग नियन्त्रण महाशाखाले ‘अपाङ्गताका सम्वन्धमा कस्ता नीति तथा योजना अघि सारे प्रभावकारी होला ?’ भन्दै सरोकारवालासंग सुझाव लिएको छ ।

आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा  महाशाखाले अपांगता सम्वन्धमा काम गरिरहेको सरकारी तथा गैरसरकारी निकायलाई आमन्त्रण गरि सुझाव लिएको हो ।

अपाङता सम्वन्धी काम गर्नका लागि स्वास्थ्य मन्त्रालयले दुई बर्ष अघि देखि नै महाशाखालाई सम्पर्क इकाई विन्दुको रुपमा तोकेको थियो । यद्धपी सो महाशाखाबाट काम अघि बढेको थिएन । स्वास्थ्य मन्त्री गगन थापाले अपांगता सम्वन्धी कामलाई तत्काल अघि बढाउने भन्दै कार्ययोजना मागेपछि महाशाखा तातिएको हो ।

महाशाखा प्रमुख चुडामणी भण्डारीले अपांगताका सम्वन्धमा आगामी आर्थिक बर्षमा कस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने र यहि आर्थिक बर्षमा के के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासंग सुझाव लिएको बताए । उनले आज आएको सुझावको आधारमा यस आर्थिक बर्ष र आगामी आर्थिक बर्षका लागि कार्यक्रम तथा योजना बनाइने बताए ।

‘गत चैत ३०मा अपागंता सम्वन्धी नीति रणनीति तथा कार्ययोजना पास भएको छ । यसैको आधारमा कस्ता कस्ता कार्यक्रम अघि बढाउन सकिन्छ भन्ने विषयमा मन्त्रीज्यूले समेत चासो व्यक्त गर्नु भएको छ । त्यसैले आज सरोकारवालाबीच छलफल चलाइएको हो,’ भण्डारीले भने ।

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय , नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाली सेना सहित अपांगता तथा कुष्टरोगको क्षेत्रमा काम गर्ने अन्य गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *