आफ्नो उपचारको माग गर्दै विरामीद्धारा घरमै अनसन


काठमाडौँ, ३ वैशाख । सार्वजनिक यातायातले ठक्कर दिएर करङ भाचिएका एक व्यक्तिले उपचारको माग गर्दै घरमै अनसन थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं – २ आलापोटका न्हुच्छे नगरकोटीले उपचारको माग गर्दै घरमै अनसन थालेका हुन् ।

सात बर्ष अघि सार्वजनिक यातायातको ठक्करले शख्त घाइते बनेका उनको अहिलेसम्म उपचार भएको छैन् । उपचारका लागि धेरै रकम लाग्ने र त्यसका लागि आफ्नो खर्च नभएको भन्दै आफू घरमै अनसन बस्न बाध्य भएको नगरकोटीले बताए ।

उनले सातवर्ष अघि अर्थात २०६६ माघ २७ गते दुई पर्यटक लिएर पोखरा जाँदा पृथ्वीराजमार्गस्थित धादिङको ज्यामिरघाटमा नगरकोटीले चलाएको फिस्टेल टुर्स एन्ड ट्राभल्सको बा४च ४५३१ नं को किया क्यारिन्स कारलाई काठमाडौँ आउँदै गरेको लमजुङ कालिका माइक्रोबस समितिको बा३ख ३१५१ नं को माइक्रोबसले ठक्कर दिएर सख्त घाइते बनाएको थियो ।

सात वर्षसम्म आफू कार्यरत ट्राभल्स, माइक्रोबस समितिलगायत सरोकार भएका निकायमा धाउँदा पनि न्याय नपाएपछि अहिले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइएको उनले बताए ।

अशक्त नगरकोटी हाल सो नगरपालिकाको वडा नं २ आलापोटस्थित आफ्नै घरमा अनशन बस्दै आउएका छन् । नेपाल घुम्न आएका सिङ्गापुरको एक दम्पती लिएर पोखरा फर्कंदा उनी मात्र नभई पर्यटक पनि सख्त घाइते भएका थिए । महिला पर्यटक गोडा नचल्ने अवस्थामा ह्विलचियरमा स्वदेश फर्केकी थिइन् । “ट्राभल्सका सञ्चालक नारायणप्रसाद पोखरेलले माइक्रोबस समितिसँग पैसा लिई कारको मर्मत गरे पनि मेरो उपचारका लागि केही गरेनन्, अहिले त भेट्न पनि मान्दैनन्, फोन पनि उठाउँदैनन्”, पीडित नगरकोटीले भने ।

बिएन्डबी अस्पतालमा प्रारम्भिक उपचारपछि डा सरोज रिजालले करङको शल्यक्रिया गर्न सिफारिस गरे पनि आर्थिक अवस्था कमजोर भएका कारण गर्न नसकेको उनको गुनासो छ । उनी अहिलेसम्म नेपाल अर्थोपेडिक अस्पताल, वीर अस्पताल र मेडिकेयर अस्पतालमा उपचारका धाई सकेका छन् ।सबै अस्पतालले करङको नसाको समस्या भएकाले न्युरो अस्पतालमा डा उपेन्द्र देवकोटालाई भेट्न सल्लाह दिए पनि तीन वर्षदेखि भेट्न नसकेको दुःखेसो उनको छ ।

ट्राभल्सका सञ्चालक पोखरेल दुर्घटनामा चालक नगरकोटी घाइते नै नभएको जिकिर गर्छन । माइक्रोबस समितिका कोषाध्यक्ष दिलबहादुर घिमिरे भने चालक घाइते भई करङमा समस्या देखिए पनि उपचार खर्च भएअनुसारको पैसा दिन खोज्दा नमानेको बताए ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *