प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका राईको निःशुल्क उपचार

मोरङ, २८ चैत । प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीय मनबहादुर राईको उपचार नोबेल अस्पताल, विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ ।

‘प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ समाचार सञ्चारमाध्यममा आएपछि उर्लाबारीका समाजसेवी खड्ग फागोको समन्वयमा नोबेल अस्पतालमा उपचारका लागि ल्याइएको हो ।

राईको त्यस्तो अवस्था देखेपछि नोबेल अस्पताल, विराटनगरका सञ्चालक सुनिल शर्माले निःशुल्क उपचार गर्ने भएका छन् । उनले भने – “हामीले राईको उपचार निःशुल्क गर्ने भएका छौँ । सञ्चालक शर्माले राईलाई निको पारेर तन्दुरुस्त बनाएर घर पठाउने बताए।

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यो वर्ष अस्पतालले ५०० जना विपन्न अवस्थाका विरामीको निःशुल्क उपचार गरेको छ । त्यसैगरी ३०० जनाको निःशुल्क शल्यक्रिया गरेको छ ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित राईको बिपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाख चन्दा सङ्कलनबाट उनको शल्यक्रिया गरिए पनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेको थिएन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *