बेनी अस्पतालप्रति जनविश्वास बढ्यो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

(सन्तोष गौतम)म्याग्दी, २८ चैत । हर्नियाको समस्या भएका रघुगंगा गाउँपालिका–३ पिप्लेका क्षेत्रबहादुर खत्रीले बेनीस्थित जिल्ला अस्पतालमा यसै हप्ता शल्यक्रिया गराए । ‘बि’ नेगेटिभ रगत र मुटुको समस्याले थलिएकी धौलागिरी–२ लुलाङकी ५१ वर्षिया मनकुमारी बिकले बेनीमै शल्यक्रिया गरेर स्वास्थ्य लाभ गरिन् ।

पोखराको गण्डकी अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने बताएपछि निराश हुँदै घर फर्कने क्रममा बिकलाई आफन्तले अन्तिम अवस्थामा बेनी अस्पताल पु¥याएका थिए । चिकित्सकका अनुसार बि नेगेटिभ रगतको कमी र उनको मुटुको चाल प्रतिमिनेट ७५ भन्दा माथि हुनुपर्नेमा ४६ मा झरेको थियो ।

दाहिने खुट्टा र कम्मरलाई जोड्ने ठाउँमा भएको सङ्क्रमणका कारण एउटा खुट्टा चलाउनै नसक्ने गरी कुँजिएपछि गत माघमा बेनी अस्पताल ल्याइएकी लुलाङकै पानु बिक एक वर्षदेखिको स्वास्थ्य समस्याबाट मुक्त भई आफैं हिँडेर घर फर्किइन् ।

क्षयरोग र कुपोषणको शिकार भएकी बिकको शल्यक्रियाका साथै दुई महिनासम्म चिकित्सकको निगरानीमा उपचार गरिएको थियो । अस्पतालमा ल्याउँदा २३ किलोग्राम तौल भएकी उनी फर्कंदा ४३ केजीकी भइन् ।

पिप्लेका खत्री, लुलाङका मनकुमारी र पानु जस्ता सयौं बिरामीले जिल्लाकै सरकारी अस्पतालमा सर्वसुलभ र सहज रुपमा शल्यक्रिया सहितको सुविधा पाएपछि राहत महसुस गरेका छन् ।

अस्पतालले जटिल प्रसूति, हाडजोर्नी, हाइड्रोसिल, हर्निया, पत्थरी, एपेन्डिसाइटिस, पाठेघर खस्ने, छालाको प्रत्यारोपण गर्नुपर्ने लगायत समस्या भएका बिरामीलाई शल्यक्रिया सहितको सेवा प्रदान गरेको छ । बेनीमा शल्यक्रिया सेवा पाएपछि धेरै रकम र समय खर्च गरेर उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने समस्यामा कमी आएको छ ।

गरिब तथा विपन्न सर्वसाधारणको उपचार सेवामा पहुँच बढ्नुका साथै समय र पैसाको बचत भएको हर्नियाको शल्यक्रिया गरेका खत्रीले बताए । “काठमाडौ, पोखरा, चितवन जाँदा धेरै खर्च र समय लाग्दथ्यो,” खत्रीले भने – “बेनीमै सुविधा पाएपछि सजिलो भयो । राहत मिलेको छ ।”

अस्पतालमा अहिलेसम्म ८४ वटा जटिल र साउनदेखियता १४९ वटा मध्यम किसिमका शल्यक्रिया सम्पन्न भएका छन् । विसं २०७१ देखि शल्यक्रियामार्फत जटिल किसिमको प्रसूति गराउने सेवा सुरु गरेको अस्पतालले गत वर्षदेखि अन्य शल्यक्रिया समेत सुरु गरेको थियो ।

पाठेघर बाहिर बच्चा बसेको, छालाको प्रत्यारोपण, अण्डकोष तल नझरेको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर अचेत भएका, नसा चुँडिएका, हड्डीले ठाउँ छाडेर जटिल अवस्थामा पुगेका बिरामीको सफल शल्यक्रिया गरिएको चिकित्सक धीरेन मल्लले बताए ।

“सीमित उपकरणका बाबजुद पनि जटिल किसिमका शल्यक्रिया सफल भएका छन्,” मल्लले भने – “सम्भव भएसम्म बिरामीलाई अन्त जान र मृत्युवरण गर्न नपरोस् भनेर प्रयास गरिरहेका छौं ।” अस्पतालले दुई सयदेखि सात हजार रुपैयाँ शुल्कमा दिने शल्यक्रिया सेवा लिन जिल्ला बाहिर जाँदा कम्तीमा पचास हजार रुपैयाँ खर्च हुन्छ ।

सुविधा विस्तारसँगै चिकित्सक, कर्मचारीको सक्रियता, व्यवस्थापन समितिको समन्वयात्मक भूमिका र समुदायको सहयोगबाट जिल्ला अस्पतालको सेवा प्रवाहमा सुधार आएको हो । पछिल्लो समय बेनी अस्पतालप्रति सर्वसाधारणको विश्वास बढेको अस्पतालमा बुवालाई उपचार गराउन आएका अन्नपूर्ण–८ राम्चेका भक्तबहादुर पुर्जाले बताए ।

“पहिले सिधै पोखरा, काठमाडौँ जाने बिरामी अहिले जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि सम्भव नहुने सेवाका लागि मात्र बाहिर जाने गरेका छन्,” उनले भने । शल्यक्रिया सेवाका लागि बागलुङ, पर्वत र मुस्ताङबाट समेत बिरामीहरु आउन थालेका छन् । उपचारमा चौबीसै घण्टा सेवामा तल्लीन रहने युवा चिकित्सकहरुको सक्रियता र जाँगर देखेर म्याग्दीका बासिन्दा खुसी भएका छन् ।

समयमै सही उपचार नपाएर अकालमा ज्यान गुमाउन बाध्य यस जिल्लाका बासिन्दाको स्वास्थ्य स्थिति सुधार्न उनीहरु लागिपरेका छन् । देशका कतिपय सरकारी अस्पतालले दरबन्दी अनुसारको चिकित्सक अभावको समस्या झेलिरहेको बेला बेनी अस्पतालमा भने १३ र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना चिकित्सक कार्यरत छन् ।

जनशक्ति पर्याप्त भएपछि विस्तार गरेको सेवालाई निरन्तरता दिन र दिगो बनाउन अस्पतालमा पूर्वाधार र उपकरण थप गर्न लागिएको अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक रोशन न्यौपानेले बताए । “जनशक्ति भएपछि सेवा विस्तार गरेका हौँ,” न्यौपानेले भने – “यसलाई निरन्तरता दिन पूर्वाधार निर्माण र उपकरण थप गर्न पहल गरेका छौं ।”

शल्यक्रिया सेवाका लागि निक साइमन इन्स्टिच्युटले अत्याधुनिक उपकरणहरु प्रदान गरेर सहयोग गरेको छ । यसअघि बिरामीको ढाडमा सूई लगाएर बेहोस बनाई शल्यक्रिया गरिँदै आइएको अस्पतालमा श्वासप्रश्वासको माध्यमबाट बेहोस बनाउने अत्याधुनिक एनेस्थेसिया उपकरण प्रयोगमा आएको छ । उपचारमा प्रयोग हुने थप सहयोगी सामग्रीहरुको खरिद प्रक्रिया अघि बढाइएको चिकित्सक न्यौपानेले बताए ।

गत वर्ष हङकङमा रहेका म्याग्देलीहरुले विद्युतीय एक्स–रे उपकरण उपलब्ध गराउनुका साथै त्यसको नियमितताका लागि अक्षय कोष समेत स्थापना गरेका थिए । दक्षिण कोरिया, बेल्जियम, बहराइनमा रहेका म्याग्देलीहरुले आकस्मिक कक्ष, रक्तसञ्चार र बिरामी कुरुवा भवन बनाएका छन् । निर्माण व्यवसायी नारायण जिसीले शल्यक्रिया गरेका बिरामीहरु राख्न व्यक्तिगत लगानीमा तीन कोठे भवन बनाएका छन् ।

दैनिक १०० देखि १५० जनाले सेवा लिने बेनी अस्पतालमा आकस्मिक, अन्तरङ्ग र बहिरङ्गका अतिरिक्त दन्त, एक्स–रे, ल्याब, सुरक्षित प्रसूति, बालस्वास्थ्य, क्षयकुष्ठ, एचआइभी परीक्षण, एआरभी औषधि वितरण, सुरक्षित गर्भपतन र निःशुल्क औषधि वितरण कक्ष रहेका छन् । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा अस्पताल परिसरमा रक्तसञ्चार गृह र आँखा उपचार केन्द्र सञ्चालन भइरहेका छन् ।

हाल ४ शय््याको आकस्मिक कक्षमा २ वटा कक्ष थप गर्ने, प्रत्येक कक्षको कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनका अनुसार सेवामा गुणस्तर ल्याउन अस्पतालको सरसफाइ, चिकित्सक, कर्मचारीको व्यवस्थापन, विशेषज्ञ जनशक्तिको व्यवस्था, पूर्वाधार निर्माण र उपकरण जुटाउन मन्त्रालयसँग पहल गरिएको छ । चिकित्सकसहितको टोली गाउँमा पुगेर घुम्ती शिविरमार्फत सेवा दिने गरेको अस्पतालले बरिरङ्ग कक्षबाट अतिरिक्त विस्तारित सेवा समेत सुरु गरेको छ ।

विसं २०७२ असोजमा १५ देखि बढाएर ५० शय््याको बनाइएको बेनी अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकसहित ६९ जना विभिन्न तहका प्राविधिक जनशक्तिको दरबन्दी छ । यसअघि दुईजना मात्रै चिकित्सकको दरबन्दी रहेको अस्पतालमा विशेषज्ञबाहेक अरु सबै दरबन्दीमा पदपूर्ति भएको छ । जनशक्ति, उपकरण र पूर्वाधारसँगै जिल्ला अस्पतालको सेवा विशिष्टीकरणतर्फ अघि बढेको हो ।

सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङले पहिलो चरणमा ५० शय््या क्षमताको अस्पताल भवन निर्माणका लागि १८ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । गत कात्तिकमा सम्झौता गरेको रफिना–गल्वा–महादेव खिम्ती जेभीले भवन निर्माणको तयारी गरेका डिभिजन प्रमुख इञ्जिनियर प्रकाश अर्यालले जानकारी दिए । विसं २०७६ सम्ममा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

हाल अस्पतालले प्रयोग गरिरहेको भवन रहेको ठाउँमा नयाँ भवन बनाउने तयारी भएको हो । अस्पताल परिसरको खाली जग्गामा अस्थायी भवन र जनस्वास्थ्य कार्यालयको नयाँ भवनबाट सेवा सञ्चालन गर्ने अस्पताल विकास समितिको योजना छ । अस्थायी भवन तयार भएपछि पुरानो भवन भत्काएर नयाँ निर्माणको काम सुरु हुने जनाइएको छ ।

अस्थायी संरचना निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा ६० लाख रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । “स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध नगराए पनि अस्पतालको स्रोतबाट वैकल्पिक पूर्वाधार तयार पारेर अहिले प्रवाह भैरहेको सेवा, सुविधामा कटौती हुन नदिने प्रयास गरेका छौं,” अध्यक्ष रेग्मीले भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *