बाँझोपन के हो ? के कारणले हुन्छ ? समाधान कसरी गर्ने ?

सन्तान नहुँनु बाँझोपनको एक प्रमुख कारक हो । तर यतापट्टी ध्यान नदिएर वा नबुझेर धेरै व्यक्तिहरु सन्तान प्राप्तिका अनेकन उपायका खोजीमा धेरै ठाँउमा भौतारिरहेका हुन्छन् । यहि कारण कतिपय परिबारमा महिलाले अनेकन अपहेलना खेप्नु परिरहेको पाइन्छ । तर खासमा यस्तो समस्या हुनुमा पुरुष र महिला दुबैको कारण हुनसक्छ ।

के हो बाँझोपन ?
कुनै दम्पतीले एक वर्षसम्म कुनै परिवार नियोजनको साधन प्रयोग नगरी चाहेको वेलामा गर्भ बस्न सकेन भने त्यसलाई बाँझोपन भनिन्छ । एकपटक पनि बच्चा नभएकालाई प्राथमिक बाँझोपन भनिन्छ भने एकपटक बच्चा भइसकेको छ वा एबोर्सन गरेको छ या डेलिभरी भएर अर्को बच्चा चाहेको वेला पनि एक वर्षसम्म बच्चा भएन भने त्यसलाई पनि बाँझोपन नै भन्ने गरिन्छ ।

के कारणले हुन्छ बाँझोपन ?
खासमा बाँझोपन तीन कारणले हुन्छ ।

पहिलो कारण, श्रीमानको  शुक्रकिटमा खराबी भएर हुने बाँझोपन । यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको छ ।दोस्रो, महिलामा डिम्ब नबन्ने समस्या भएर । त्यो पुरुषकै समस्याको हाराहारीमा देखिएको छ । तेस्रो, महिला–पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्याले देखिने बाँझोपन । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा देखिएको छ ।

महिलामा के कारणले हुन्छ यस्तो समस्या ?

महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य समस्याहरू पनि देखिने गरेका छन् । गर्भ नबस्नुमा पाठेघरको नली बन्द भएर पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युब बन्द हुँदा धेरैजसो विभिन्न किसिमका संक्रमण हुनसक्छ । त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुनसक्छ ।

कहिलेकाहीँ नलीमा बच्चा बसेर नली काटेर फाल्नुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि अप्रेसनमा नलीहरू बिग्रने डर हुन्छ । अप्रेसन गरिसकेपछि मान्छे उभिन्छ, त्यहाँ भएको जति फोहोर विकारहरू पाठेघर र नलीको छेउछाउमा गएर बस्न सक्छ । १४ देखि १५ प्रतिशत बाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ ।

त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन । यो समस्या भनेको महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । जसको कारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । ७ प्रतिशतले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ ।

पहिलो बच्चा
पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षीत तरिकाले गर्भपतन गरिएन भने पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।

सुरक्षीत तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन हुनसक्छ । इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।

गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकार–प्रकार बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।

अस्थायी साधनले के गर्छ ?
परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो समयसम्म बच्चा नबस्ने भन्ने चाहिँ हुँदैन । तर, कुनै–कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समयका लागि प्रयोग गर्ने कुनै–कुनै अस्थायी साधनले लामो समय (६ महिना–१ वर्ष)सम्म पनि गर्भ बस्ने समय धकेल्न सक्छ ।

कुन समयमा बच्चा पाउनु उचित ?
महिलाको उमेर २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउनु राम्रो हुन्छ । ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय होइन । यो समयमा बच्चा बस्ने सम्भावना पनि कम हुन्छ । सो समयपछि गर्भ रहेमा बच्चा अपांग हुने, डाउन्ड सिन्ड्रम हुने हुन्छ भने आमामा पनि उमेर बढ्दै जाँदा, डायबिटिज, हाइपरटेन्सन, ओभर वेटले गर्दा समस्या हुन्छ । पेट नै बोक्नुचाहिँ खराबी होइन, तर आमालाई अन्य रोग लाग्ने भएको हुँदा समस्या हुनसक्छ ।

थाहा नभएका कारणले हुने बाँझोपन
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोम हेर्नुपर्ने, अन्य हर्मोनहरूको पनि जाँच गर्नुपर्छ ।

यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन । पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमान्को समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ । यस्तो अवस्थामा आकस्मिक रूपमा पछि आफैँ बच्चा हुने पनि छन् । तर, लामो समयसम्म पनि कारण थाहा छैन भने कृत्रिम गर्भाधान गर्‍यो भने बच्चा हुने सम्भावना हुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस गरिरहनुपर्छ ।

बँझोपनलाई यसरी समाधान गर्न सकिन्छ

  • पहिलो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्ने ।
  • कारण थाहा भएपछि कारणको उपचार गर्ने ।
  • शुक्रकिटको खराबी छ भने त्यो बढाउन लाग्ने ।
  • बढ्न सकेन भने श्रीमान्को शुक्रकिट लिएर कृत्रिम गर्भाधान गर्ने ।
  • धेरै नै कम छ भने श्रीमान्कै शुक्रकिट लिएर टेस्टट्युब बेबी जन्माउन सकिन्छ ।
  • श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने औषधि खाने ।
  • तौल धेरै छ भने तौल घटाउने ।
  • इन्फेक्सन छ भने त्यसको उपचार गर्ने ।
  • पाठेघरमा मासु पलाएर बच्चा बस्न सकेको छैन भने त्यसलाई फाल्नुपर्छ ।
  • केही पनि कारण छैन र बच्चा बसेको छैन भने कृत्रिम गर्भाधान गर्न सकिन्छ ।
  • नली नै बन्द छ र अन्य कारणले बच्चा बसेन भने त्यसका लागि टेस्टट्युब बेबी प्रविधि अपनाउन सकिन्छ ।
  • कसैले डिम्ब नै बनाउदैन वा बनाउन सक्दैन भने अरूबाट डिम्ब लिएर पनि गर्भ बसाउन सकिन्छ ।
  • पुरुषले चुरोट खान्छ भने छोड्ने ।
  • लागुऔषधको कुलत छ भने त्यो पनि छोड्नुपर्छ ।
  • धेरै गर्मी ठाउँमा काम गर्ने छ भने काम परिवर्तन गर्ने । शुक्रकिट निर्माणका लागि अण्डकोशको तापक्रम ३२–३३ डिग्री हुनुपर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *