तीन प्रतिशत बालबालिका अझै खोपविहीन

0
Shares

काठमाडौँ, ७ पुस । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्वास्थ्य क्षेत्र सुधारका लागि थप कार्यक्रम ल्याइने बताएका छन् ।

स्वास्थ्य मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हिजो आयोजना गरेको पूर्णखोप घोषणा अभियान र दीर्घकालीन योजना विषयको दुईदिने कार्यशालामा उनले काठमाडौँ उपत्यका बाहिरका जिल्ला जनस्वास्थ्य कार्यालयमा जनशक्तिको अभाव हुन नदिइने बताए ।

कार्यक्रममा व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले खोपको महत्व जीवनसँग जोडिए पनि देशमा अझै तीन प्रतिशत बालबालिकाले खोप लगाउन नपाउनु दुःखद् हो भन्दै यसमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताइन् ।

बालस्वास्थ्य महाशाखा निर्देशक डा राजेन्द्र पन्तले हरेक वर्ष नेपालमा छ लाख पाँच हजार शिशु जन्मने गरेको र तीमध्ये ८५ हजारले अझै पूर्ण खोप लगाउनबाट वञ्चित रहनुपरेको हुँदा महाशाखाले विशेष कार्यक्रम ल्याउने जानकारी दिए ।

कार्यशालाका सहभागीले स्वास्थ्य क्षेत्रमा लगानी कमसँगै जनचेतनाको कमी भएकाले अझै धेरै बालबालिका पूर्ण खोप लगाउनबाट वञ्चित हुनुपरेको बताएका थिए ।

कार्यशालामा विभिन्न जिल्लाबाट करिब २५ प्रतिनिधिको सहभागिता थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।