अनुहार सुन्दर बनाउने ‘अर्थोगन्याथिक सर्जरी’ सेवा बीर अस्पतालमा सुरु

काठमाडौँ, १ पुस –  बीर अस्पतालले अर्थोगन्याथिक सर्जरी सेवा सुरु गरेको छ । अनुहारको स्वरुप परिवर्तन गरिने एक खालको विशिष्ट सर्जरीको रुपमा चिनिएको यो सेवा सुरु गर्ने बीर पहिलो सरकारी अस्पताल बन्न पुगेको छ ।

अस्पतालको दन्त रोग विभागका चिकित्सकहरुको टोलीले गत महिना जन्मजात रुपमा मुखको माथिल्लो भागको हड्डी (म्याग्जिला) भन्दा तलको भाग (म्यान्डिबल)को हड्डी लामो भएकी काठमाडौँ मातातीर्थकी २१ बर्षीया  युवतीको  अर्थोगन्याथिक सर्जरी सफलतापूर्वक सम्पन्न गरी सेवा शुभारम्भ गरेका हुन् । यो टोलीले पहिलो सर्जरीका लागि बेलायतमा कार्यरत नेपाली मुलका कन्सलटेन्ट म्याग्जिलोफेसियल सर्जन डा. सुनिल शाहको प्राविधिक सहयोग लिएको थियो ।

बीर अस्पतालमा कार्यरत म्याग्जिलोफेसियल सर्जन डा. किशोर भण्डारीका अनुसार यो सर्जरी बिरामी भएकाले भन्दा पनि अनुहारको स्वरुप नमिलेकाहरुले राम्रो हुनका लागि गर्ने सर्जरी हो त्यसैले धेरै सम्वेदनशील हुन्छ र थोरै पनि गडबड हुनु हुदैन ।मुखको हड्डी बढ्ने क्रममा कुनै कुनै हड्डी कम र कुनै हड्डी बढी बढेर अनुहारमा आउने बिकृति हटाउनका लागि यो सर्जरी गरिने डा. भण्डारीले बताए ।

‘यसमा खासगरी मुखको तल्लो भागको हड्डी र माथिल्लो भागको हड्डीको विश्लेषण गरिन्छ । अनि लामो भए काटेर भित्र धकेलिन्छ, छोटो भए तानिन्छ र अनुहारको स्वरुप सुन्दर बनाइन्छ,’ बीर अस्पतालमा कार्यरत अर्की म्याग्जिलोफेसियल सर्जन डा. ईष्फा हकले बताइन् ।

अर्थोडोन्टिस्ट डा. मनिष बज्रचार्यले यो सर्जरीकालागि ६ महिना देखि एक बर्षसम्मको पूर्व तयारी हुनुपर्ने बताए । ‘यो सर्जरी आजको भोली नै गर्न मिल्दैन, बिस्तृत परीक्षण पश्चात कम्तीमा ६ महिना देखि एक बर्षसम्म दाँत तारले बाध्नु पर्छ । त्यसपछि मात्रै सर्जरी हुन्छ,’ उनले भने ।

अस्पतालका दन्तरोग विभाग प्रमुख डा. शैली प्रधानका अनुसार दन्त चिकित्सा अन्तर्गतका ओरल एन्ड म्याग्जिलोफेसियल सर्जरी र अर्थोडोन्टिक्स विभागको संयुक्त संलग्नतामा यस प्रकारको शल्यक्रिया गरिन्छ। उनले आम सर्वसाधारण तथा विपन्न नागरिकको समेत कम्स्मेटिक सेवामा पहुँच पुगोस भन्नका लागि बीर अस्पतालमा अर्थोगन्याथिक सर्जरी सुरु गरेको बताइन् ।

 

अहिले कतिपय निजी अस्पतालले भारतका अस्पतालमा रिफर गर्ने गरेको भन्दै बीर अस्पतालमा सुरु भएको यो सर्जरी भारतमा कैयौ गुना महंगो हुने गरेको बताइन् । ‘बीरमा ४० देखी ५० हजार रुपैयाँमा सम्पूर्ण उपचार सम्भव छ तर यहि उपचारका लागि भारत गएमा ४ देखी ५ लाख भारतीय रुपैयाँ तिर्नुपर्छ,’ उनले भनिन् ।

अर्थोगन्याथिक सर्जरीका लागि विभागीय प्रमुख डा. प्रधानको नेतृत्वमा डा. किशोर भण्डारी, डा. मनिष बज्राचार्य, डा. ईष्फा हक र एनेस्थेसियामा डा. श्रृष्टि शाह लगायतको टोली क्रियाशिल थियो । अवको छ महिना पछि पुन अर्को केश गर्ने तयारीमा डेन्टल विभाग लागेको छ ।

अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले बीर अस्पतालले सेवा विस्तार गर्ने क्रमको थप सेवा अर्थोगन्याथिक सर्जरी सेवा भएको बताए ।

 

सर्जरी गर्नु अघिको अनुहार
सर्जरी गरेपछिको अनुहार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *