सङ्क्रमित पत्ता लाग्ने क्रम बढ्दो

aids

बागलुङ, १७ मंसिर –  जिल्लामा विगत तीनवर्ष यता एचआइभी सङ्क्रमित बढ्दो क्रममा भेटिएको छ ।

बागलुङस्थित धवलागिरी अञ्चल अस्पतालमा अहिलेसम्म ३२५ सङ्क्रमित दर्ता भएका छन्, जुन तीन वर्षअघिको तुलनामा ७४ ले बढी हो । आव २०६९/७० मा २५१ जना सङ्क्रमित दर्ता थिए ।
सङ्क्रमित पहिचान हुने क्रम बढे पनि सङ्क्रमण दर भने घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जनचेतना अभिवृद्धि, उपचारमा पहुँचजस्ता कारणले सङ्क्रमित पत्ता लाग्ने दर बढेको हो । आव २०७०/७१ मा २६६ र २०७१/७२ मा २८६ सङ्क्रमित भेटिएका थिए । धवलागिरि अञ्चल अस्पतालको एआरटी उपचार केन्द्रको आँकडाअनुसार हाल दर्ता भएका ३२५मध्ये १७२ पुरुष र १५३ महिला छन् । तीमध्ये एआरभी औषधि लिनेको सङ्ख्या १२७ छ ।

औषधिको पहुँचमा पुग्नेको सङ्ख्या पनि बढ्दै गएको देखिएको छ ।सुरुमा १०८ जनाले एआरभी औषधि लिएका थिए । उक्त अस्पतालले २०६४ सालमा एचआइभीको उपचार सेवा सुरु गरेको जनस्वास्थ्य अधिकृत जीवनकुमार शाक्यले बताए ।

एचआइभीको परीक्षण, रोकथाम, उपचार, हेरचाहमा सम्लग्न आइएनएफ केन्द्रका प्रमुख ज्ञानेन्द्रप्रसाद त्रिपाठीका अनुसार स्वेच्छिक परामर्श लिने र रक्त परीक्षण गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । “अझै पनि कतिपय एचआइभीको चर्चा नै नभएका गाविस पनि छन्”, उनका अनुसार धवलागिरि अञ्चल अस्पताल, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रसहित ४१ वटा प्रसूति केन्द्रमा एचआइभीको परीक्षण हुने गरेको छ ।

सबै प्रसूति केन्द्रमा सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथामका लागि समुदायमा आधारित कार्यक्रम पनि सुरु गरिएको छ । एचआइभी एड्सका कारण हालसम्म जिल्लामा ३४ जनाको मृत्यु भएको जनाइएको छ । बागलुङमा ९८ प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको पाइएको छ । त्यसमा पनि करिब ४० प्रतिशत वैदेशिक रोजगारबाट आएका पुरुषबाट महिलामा सङ्क्रमण भएको अनुमान छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *