व्यायामले निरोगी मात्र होइन विश्व कीर्तिमानी पनि बनायो

ramchandra

पाल्पा, १७ मंसिर – रक्तचाप र मधुमेहका रोगीले नियमित औषधि सेवन गर्दछन् । तर पाल्पा रामपुर नगरपालिका–५, दर्छाका ६० वर्षीय रामचन्द्र खनालले भने औषधि सेवन गर्न छाडेर नियमितरुपमा सिटअप व्यायाम गरेर निरोगी बन्दै अहिले विश्व कीर्तिमान नै जितेका छन् ।

अमेरिकी नागरिकले कायम गरेको विश्व कीर्तिमान ६० मिनेटमा दुई हजार ६ सय एक पटकलाई तोडेर खनालले ६० मिनेटमा दुई हजार ६ सय २५ पटक सो व्यायाम गरी विश्व रेकर्ड राख्न सफल भएको खनाल बताउँछन् ।

खनाललाई डाक्टरले दिएको रक्तचाप र सुगरको औषधि नियमित खानुपर्ने सल्लाह लिएर घरमा आए । औषधि खानभन्दा व्यायामतर्फ नै दैनिक सक्रिय भएसँगै रोगी होइन कुशल खेलाडीका नामले अहिले चिनिन थालेका छन् । नेपाल सरकारको सेवानिवृत्त भएसँगै उच्च रक्तचाप र सुगर देखिएपछि उनी समस्यामा परेका हुन् । नियमित औषधि खानुपर्ने बाध्यताले उनलाई जागिरे जीवनपछिका दिन झनै कष्टकर हुने चिन्ता व्यायामले हटाएको हो ।

“व्यायामपछि जीवन जिउने शैली फरक भयो, डाक्टरले दिएको डोकाभरि औषधि खानुभन्दा व्यायाम राम्रो लाग्यो,” खनालले भने । विसं २०७० मा नेपाली सेनामा दुई महिना आवासीय तालिममा सहभागी हुन पाउने खनाल सैनिक बाहेकका पहिला व्यक्ति हुन् । २०६६ मा कृषि विकास बैंकको अधिकृतबाट निवृत्त भएका खनाल २०७० सालमा पहिलोपटक काठमाडौँको दशरथ रङ्गशालामा खेल प्रदर्शन गर्ने अवसर पाएको बताउछन्। पछिल्लो पटक ०७३ साल असारमा काठमाडौँमा भएको प्रदर्शनमा दशवटा बिभिन्न रेकर्ड बनाउन सफल भएको खनालले बताए ।

एक मिनेटमा ५८, दुईमा मिनेटमा एक सय १५, पाँच मिनेटमा दुई सय ७८, १० मिनेटमा पाँच सय ३५, १५ मिनेटमा सातसय ७०, २० मिनेटमा एक हजार, ३० मिनेटमा एक हजार चारसय ३६ र ६० मिनेटमा दुई हजार ६ सय २५ पटक सिटअप व्यायाम गरेपछि उहाँले नेपालको नाम विश्वभरि फैलाउन सफल भएका हुन् ।

स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले खनालको विश्व कीर्तिमानीले खेल क्षेत्रमा पाल्पा विश्वसामु परिचित हुने बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेले सबै रेकर्डको गिनिज बुक अफ रेकर्ड्सका लागि पहल भएको र यसका लागि आवश्यक सहयोग र सिफारिस गरेको बताइन् ।

नेपालमा सिटअप व्यायाममा दशवटा रेकर्ड कायम गर्दै विश्व कीर्तिमान राख्न सफल भएको भन्दै जिल्ला खेलकुद विकास समिति, पाल्पाले खनाललाई सम्मानपत्र, दोसल्ला र पाल्पाली ढाका टोपीले सम्मान गरेको सदस्य दयाराज न्यौपानेले बताए । सम्मान गर्ने कार्यक्रममा उनले सिटअप व्यायाम पनि प्रदर्शन गरेका थिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *