गरिबीकै कारण रोग पालेर ज्यान जान्छ ग्रामीण महिलाको

jajrkot

(हेमन्त केसी)जाजरकोट, १३ मंसिर –  सक्ला गाविस–१ कि कमला खत्रीको पेट दुख्दै गर्दा स्वास्थ्य संस्थाको मुख नै नदेखेर एक वर्ष अघि मृत्यु भयो । खत्रीलाई नजिक स्वास्थ्य संस्था भए पनि आर्थिक अभावका कारण उपचारका लागि एक पटक पनि लगिएन ।

निरन्तर दुई वर्षको पेट दुखाइ पछि पानीबाट चल्ने घट्टमा मकैको पिठो पिस्न राति ३ बजे गएकी खत्रीको घटनास्थलमा नै मृत्यु भयो ।

त्यस्तै सक्ला–६ लुहागकी धनमाया बोहराको पेट दुख्ने समस्याकै कारण ३३ वर्षकै उमेरमा मृत्यु भयो । उनको लगातार तीन वर्षसम्म पेट दुख्ने गर्दथ्यो । पेट दुखेपछि अस्पताल लानका लागि धनमायाको परिवारले रकम जुटाउन सकेनन् । आर्थिक अभावकै कारण कात्तिक ७ गते स्याउँला लिन गएको बेला धनमायाको जङ्गलमै मृत्यु भएको परिवारले एक दिन पछि मात्र थाहा पाए । मृत्यु भएको एक दिन बितिसकेपछि धनमायाको शवलाई स्यालले खाइसकेको रहेछ उनका श्रीमान् टेकबहादुर बोहराले आँसु झार्दै भने ।

अस्पताल लानका लागि पैसाको जोहो गर्न एक रोपनी जग्गा बिक्री गर्ने तयारी हुँदै उनको मृत्यु भयो, अब छोराछोरी कसरी पाल्ने, म अपाङ्ग छु बोहराले थप्नुभयो । खत्री र बोहरा त प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका महिला आर्थिक अभावकै कारण ठूला अस्पताल जान सक्दैनन् । गाउँ घरका स्वास्थ्य संस्थामा श्रीमान्लाई पठाएर ल्याएको औषधिले काम चलाउँछन् । रोग नै के लागेको हो भन्नेसम्म थाहा नै नपाएर ग्रामीण क्षेत्रका महिला पीडा सहेरै अकालमै मृत्यु हुने गरेको नलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले बताए ।

जतिसुकै पीडा भए पनि पैसा तिरेर ठूला अस्पतालमा जानका लागि ग्रामीण भेगका स्थानीयका लागि फलामको चिउरा चपाउनुसरह नै भएको छ । सामान्य रोग देखा पर्ना साथ आफैँ निको भइहाल्छ भनेर सुरुमा लापर्बाही गर्ने पछि रोग बल्झिएपछि मोटो रकम नपाउने समस्याले गर्दा यहाँका ग्रामीण क्षेत्रका महिला अकालमै मृत्युवरण गर्न बाध्य छन् ।

सडक सञ्जालले नछोएका कारण यहाँका गाउँ, घरमा डोकोमा बोकेर बिरामी स्वास्थ्य संस्था ल्याउनुपर्ने बाध्यता छ । डोकोमा बोक्नका लागि कम्तीमा तीन जना सहयोगी चाहिन्छ, अप्ठ्यारो बाटो छ सहजै उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्था ल्याउन पनि मुस्किल भएको स्थानीय शिक्षक बताउँछन् । ग्रामीण क्षेत्रमा सबैभन्दा बढी ग्यास्टिक, पाठेघर खस्ने, टिवीका कारण ज्यान जाने गरेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

शनिबार दल्लीमा भएको एक दिने स्वास्थ्य शिविरमा ७० प्रतिशत बिरामी टिवी, ग्यास्टिक, पाठेघर खस्ने समस्या र यौनरोगका बढी समस्या भएका बिरामी उपचारका लागि आएको डाक्टर विभान्त शाहले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *