स्वास्थ्यको अनुगमन टोलीद्धारा काठमाडौँ र ललितपुरका थप ८ क्लिनिकमा सिलबन्दी
काठमाडौँ, ३० कात्तिक – स्वास्थ्य मन्त्रालयको नेतृत्वमा खटिएको सरकारी अनुगमन टोलीले मंगलबार ललितपुर र काठमाडौँका थप ८ वटा क्लिनिकमा सिल गरेको छ । सोमबार यहि टोलीले पाँचवटा क्लिनिकमा सिलबन्दी गरेको थियो ।
मंगलबार मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ तथा ललितपुरबाट खटिएको छुट्टा छुट्टै टोली काठमाडौँका ४ र ललितपुरका ४ वटा क्लिनिक सिल गरेको हो ।
काठमाडौँको अनुगमनटोलीको नेतृत्व गरेका स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका डा हेमन्त ओझाका अनुसार चावहिलको शाह प्याथोलोजी, रेशा क्लिनिक, बिराज डेन्टल प्रालि र ओम समाज डेन्टल प्रालिमा सिलबन्दी गरेको छ ।
ओझाले सिलबन्दी गरेकोमध्ये ओम समाज डेन्टलमा बिरामी धेरै भएकोले उनीहरुलाई २४ घण्टा भित्र स्थानान्तरण गर्न र जिल्ला जनस्वास्थ्य कार्यालयमा उपस्थित हुन सञ्चालकलाई निर्देशन दिएको बताए ।
उता ललितपुरमा खटिएको टोलीले कागजपत्र देखाउन सोमबार २४ घण्टे अल्टीमेटम दिँदा पनि दर्ता कागजपत्र देखाउन नसकेको जाउलाखेलको लेजर थेरापी सहित चार ओटामा मंगलबार तालाबन्दी गरेको छ ।
मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वको टोलीले भैसीपाटीमा रहेका शुभेक्ता क्लिनिक एण्ड रिसर्च सेन्टर, ओमशान्ति सामाजिक संस्थाद्धारा सञ्चालित सम्पूर्ण सुरक्षित गर्भपतन सेवा र शम्भु फर्मा इन फोकस अप्टिकल एण्ड क्लिनिकमा पनि मंगलबार तालाबन्दी गरिदिएको छ ।
सो टोलीले सोमबार जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा तालाबन्दी गरिदिएको थियो ।
दर्ता नै नभईकन सञ्चालन भएको पाइएकाले तालाबन्दी गरिदिइएको अनुगमन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले जानकारी दिए ।
दुवै अनुगमन टोलीले क्लिनिक तथा फार्मेसीहरुमा दर्ता तथा नविकरण सम्वन्धी कागजपत्र, तोकिए अनुसारको आधारभुत मापदण्ड पुरा भए नभएको बारेमा जाँजबुझ गरेको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]