क्यान्सर उपचार पछि पूर्व राष्ट्रपति पहिलो औपचारिक कार्यक्रममा सहभागी
काठमाडौँ, २६ कात्तिक – भर्खरै प्रोष्टेट क्यान्सरको अमेरिकामा उपचार गरि स्वदेश फर्किएका पूर्व राष्ट्रपति डा रामवरण यादव सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।
उनले बिहीबार नेपाल भास्कुलर तथा इन्टरभेन्सन रेडियोलोजी समाजले त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल लगायतको सहकार्यमा आयोजित रेडियोलोजिको सूक्ष्मशल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न पुगेका हुन् ।
कार्यक्रममा विभिन्न २० देशबाट आएका दुई सय बढी विज्ञहरुले रेडियोलोजी तथा रेडियोलोजिको प्रयोग गरेर हुने शुक्ष्मशल्यक्रिया सँग सम्बन्धित वैज्ञानिक सोधपत्र प्रस्तुत गरेका छन् ।
उद्घाटन सत्रमा बोल्दै पूर्व राष्ट्रपति डा यादवले प्रविधिको विकास उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन यस्तो सम्मेलनले टेवा पुर्याउने बताए ।
समाजका अध्यक्ष प्राडा राम कुमार घिमिरेले नेपालमा रेडियोलोजी र यसको प्रयोग बाट विकसित शल्यक्रिया बारेको विगत, वर्तमान र भविस्यका बारेमा जानकारी दिए ।
कार्यक्रममा रेडियोलोजिमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएका स्ट्यानफर्ड क्यालिफोर्नियाका डा माइकल डेक, एम्स भारतका डा संजिव शर्मा र नेपालका डा नेत्रलाल अमात्य, डा राजु प्रधान र डा आनन्द प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो। कार्यक्रम भोलि कार्तिक २७ सम्म चल्ने छ ।