नसर्ने रोग नियन्त्रण गर्ने ‘पेन प्याकेज’ कार्यक्रम १० जिल्लामा बिस्तार हुँदै

bivag1-copy

काठमाडौँ, २५ कात्तिक – नसर्ने रोगको जोखिम नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठन ( डव्लुएचओ)को सहयोगमा सरकारले अघि सारेको योजना प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डीजीज (पेन प्याकेज) कार्यक्रम थप आठ जिल्लामा लागू हुने भएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै कैलाली र इलाममा यो कार्यक्रम सुरु गरिसकेको छ ।

स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाका अनुसार पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट जिल्लामा पनि यसैबर्ष देखि पेन प्याकेज कार्यक्रम विस्तार गर्ने योजना अघि बढेको छ । यद्धपी यी जिल्लाहरुको अन्तिम स्विकृति हुन बाँकी छ ।

डव्लुएचओको पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र स्वासप्रस्वास ( सीओपीडी) रोग नियन्त्रण गर्ने योजना भएपनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमूना कार्यक्रम सुरु गरेको छ । तर अब सुरु हुने अन्य जिल्लामा चारवटै रोगको कार्यक्रम अघि बढाइने तयारी भएको महाशाखा प्रमुख मोहम्मद दाउदले बताए ।

‘अहिले इलाम र कैलालीमा यो कार्यक्रमका लागि ५० ५० लाख रुपैयाँ पठाइएको छ । बाँकी जिल्लामा पनि सोही अुनसार बजेट पठाइनेछ । त्यसका लागि आवश्यक कोअर्डिनेशन भएको छ,’ दाउदले भने । उनले आगामी चार बर्ष भित्र यो कार्यक्रम देशका सबै जिल्लामा लागू हुने दावी गरे ।

डव्लुएचओको प्रतिवेदन अनुसार नेपालमा सन २०१० मा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ५१ प्रतिशत रहेको थियो तर सन् २०१४ मा पुग्दा यो प्रतिशत बढेर ६० पुगेको छ । संसारमै तिब्ररुपमा बढ्दै गएको नसर्ने रोगको जोखिम न्युनिकरण गर्न डव्लुएचओले यो कार्यक्रम अघि सारेको हो । यो कार्यक्रममा नसर्ने रोगको जोखिम न्युनिकरणका उपाय, रोकथाम र उपचार लगायतको प्याकेज रहेको छ ।

‘पेन प्याकेज कार्यक्रममा मुख्यतया स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने कार्यक्रम छ । यदि कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरि नसक्ने अवस्था हुँनासाथ प्राथमिक स्वास्थ्यकेन्द्रमा रिफर गर्छ । त्यहाँका चिकित्सकले रोग पत्ता लगाईसकेपछि औषधिको व्यवस्था उनीहरुकै सिफारिसमा स्वास्थ्यचौकीबाट उपलव्ध हुन्छ,’ निर्देशक दाउदले भने ।

उनले यो योजनामा नसर्ने रोगको उपचार, यसका जोखिम, बच्ने उपायका बारेमा सम्पूर्ण प्याकेज रहेको बताए । उनले यो कार्यक्रम लागू भएको जिल्लामा निशुल्क औषधिको सूचीमा थप तीन वटा औषधि थपिएको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *