बागलुङमा नौ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना

baglung-copy

बागलुङ, २४ कात्तिक – स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले जिल्लाका नौवटा गाविसमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।

सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएका इकाई अधिकांश दुर्गम गाविस लक्षित  छन् । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार स्वास्थ्यचौकीको पहुँच बाहिर रहेका सर्वसाधारणलाई इकाईले राहत दिलाएको छ ।

पायकमा स्वास्थ्यचौकी नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए। “गाविसमा भएको स्वास्थ्य संस्थामा पायक नपर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था देखेर इकाई स्थापना गरेका छौँ,” प्रशासक श्रेष्ठले भने ।

हुग्दिशिर, दर्लिङ, निशी, पैँयूपाटा, जैदी, बोवाङको ढोरपाटनमा गत वर्षदेखि नै इकाई सञ्चालनमा आएका छन् । यो वर्ष ग्वालिचौर–८, खुङ्खानी–७ र अमरभूमिको भुस्कातमा इकाई स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  श्रेष्ठका अनुसार सामुदायिक स्वास्थ्य इकाई स्वास्थ्यचौकीको सानो रुप हो जहाँ एक अहेव र एक अनमी गरी दुईजना स्वास्थ्यकर्मी रहन्छन् ।

स्वास्थ्यचौकीले दिने प्रायः सबै सेवा इकाईबाट प्रदान गर्ने गरिएको छ । सरकारले प्रत्येक वर्ष जिल्लाको आवश्यकता हेरी सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि स्वीकृत प्रदान गर्ने गरेको छ । थप गाविसबाट पनि इकाई स्थापनाका लागि माग भइआएको श्रेष्ठले बताए। “विगत तीन वर्षदेखि जिल्लामा प्रतिवर्ष तीनवटा इकाईका लागि सरकारले स्वीकृत प्रदान गरेको छ,”  श्रेष्ठले भने “आवश्यकता भएका ठाउँमा इकाई स्थापना गर्न सकिन्छ, थप ठाउँमा इकाई ल्याउनका लागि हामीले पहल गरिरहेका छौँ ।”

विकट भूगोल भएका र स्वास्थ्यचौकीसम्म सहज पहुँच नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई प्रभावकारी बनेको छ । खुङखानी–६ का वडा नागरिक मञ्चका संयोजक कुलबहादुर छन्त्यालले इकाई स्थापना भएपछि सर्वसाधारण हर्षित भएको प्रतिक्रिया दिए । खुङ्खानी–७, ८ र ९ का बासिन्दाले प्रत्यक्ष रुपमा इकाईबाट सेवा लिइरहेको उनको भनाइ छ । स्थानीयवासीकै सक्रियतामा सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालन समिति गठन गरेर त्यसको व्यवस्थापन र सञ्चालन गर्ने गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *