तारकाङ स्वास्थ्य केन्द्र भवन सञ्चालनमा
पोखरा, २३ कात्तिक- कास्की जिल्लाको पूर्वी भेगस्थित थुमाको डाँडा गाविस–९ सिमलचौरमा रु ५८ लाख ४६ हजारको लागतमा ‘तारकाङ सामुदायिक स्वास्थ्य केन्द्र’ पक्की भवन बनी सञ्चालनमा आएको छ ।
महिला तथा पुरुष छुट्टाछुट्टै शौचालय र भान्छा कोठासहित ११ कोठे सो भवन निर्माणका लागि बेलायती रिचार्डबाट रु ४२ लाख, स्थानीयवासीबाट रु १६ लाख, गाविसबाट रु ५२ हजार र माथिल्लो मादी जलविद्युत् आयोजनाबाट रु ३० हजार प्राप्त भएको थियो । कल्याण शेरचन स्मृति प्रतिष्ठानले रु एक लाख २० हजार मूल्य बराबरका सात शय्या र आवश्यक सामग्री उपलब्ध गराएको छ । सरकारी दरबन्दीमा रहेका दुई स्टाफ नर्सले सो केन्द्रमा सेवा प्रदान गर्दै आएका छन्।
नवनिर्मित भवनको पूर्वमन्त्री खगराज अधिकारीले सोमबार उद्घाटन गर्दै मुलुकका ग्रामीण क्षेत्रमा सञ्चालित सम्पूर्ण स्वास्थ्य केन्द्र चौबिसै घन्टा सञ्चालन गर्नुपर्ने र आवश्यक जनशक्तिसहितको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
पश्चिमाञ्चल स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेलले सरकारले दिँदै आएको आवश्यक औषधि र जनशक्ति उपलब्ध गराएर स्वास्थ्यचौकीबाट सक्दो सुविधा प्रदान गरिने बताए ।
बेलायती सहयोग संस्था पार्टस नेपालका सल्लाहकार क्याप्टेन पूर्णबहादुर हेल्मुले स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा विकास गर्न स्थानीय पहल हुनुपर्ने बताउँदै तत्काल एम्बुलेन्स सेवा सञ्चालनमा पहल गरिने बताए।
कार्यक्रममा भवन निर्माण तथा सञ्चालनमा सहयोग पु¥याउने स्वदेशी तथा विदेशी महानुभावलाई सम्मान गरिएको थियो ।
सो अवसरमा लेकसिटी हस्पिटल एन्ड रिसर्च सेन्टर पोखराद्वारा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २८० जनाको स्वास्थ्य परीक्षण गरिनाका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
शिविरमा डा. सुभाष सापकोटा, डा. प्रेम भुजेल, डा. कृष्ण बराल, डा. विष्णु नेपाली, डा. सवीन बराल र डा. राजनकुमार शर्मा लगायतको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा भिडियो एक्स–रे, इसिजीका साथै हाडजोर्नी, पेट तथा छातीको परीक्षण गरिएको थियो । रासस