कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भयो १ हजार ६ सय जनाको शल्यक्रिया
जुम्ला, २३ कात्तिक – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले आफ्नो सेवा प्रारम्भ गरेदेखि हालसम्म एक हजार ६४९ बिरामीको शल्यक्रिया गरेको छ ।
प्रतिष्ठानले विसं २०६९ मा आफ्नो सेवा प्रारम्भ गरेको थियो । सेवा थालनी गरेको चार वर्षको अवधिमा यसले ७३६ बिरामीको मेजर (ठूला) र बाँकीको माइनर (साना) अपरेसन गरेको प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा निरेश थापामगरले जानकारी दिए ।
“हालसम्म हामीले एपेन्डिसाइटिस, हाडजोर्नी, ल्याप्रोक्सटोमी, सिएस, हर्निया, भ्यासेक्टोमी, हेमियोटोमी, डेब्रिडिमेन्ट, पाठेघरको, स्किन ग्राफ्ट, मिर्गौला प्रत्यारोपण र बाह्य वस्तुसहितको मेजर तथा माइनर अप्रेसन गरेका छौँ,” डा थापामगरले भने । त्यसमा अहिलेसम्म सबैभन्दा बढी ६७ एपेन्डिसाइटिसका बिरामीको अपरेसन गरिएको उनले बताएयो ।
जुम्लामा प्रतिष्ठान स्थापना भएपश्चात मुगु, कालीकोट, जाजरकोट, बाजुराका बिरामीले बढी सेवा लिइरहेका छन् । प्रतिष्ठानका कारण अहिले कर्णालीवासीले अकालमा ज्यान गुमाउनु नपरेको चन्दननाथ नगरपालिका–६ का स्थानीय हरिबहादुर भण्डारीले बताए।
भण्डारीले भने, “सामान्यतः हात भाँचिएमा नेपालगन्ज, काठमाडौँ जान्थ्यौँ र लाखौँ खर्च गर्नुपथ्र्यो, तर अहिले नचिताएका अपरेसन पनि जुम्लामै भइरहेका छन्, यसबाट हामी हर्षित छौँ ।” यता डा थापामगरले दुर्गम क्षेत्रका जनताको जीवन बचाउने सुवर्ण अवसर पाएकोमा आत्मसन्तुष्टि बढेको बताए।
शव परीक्षण गर्न डाक्टर कुर्नुपर्ने, सुरक्षित सुत्केरी हुन नसकी धेरै महिलाले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता पछिल्लो समयमा हटेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान अहिले यहाँका नागरिकका लागि वरदान सावित भएको स्थानीय मनोज बुढाथोकी मगरले जनाए । उनका अनुसार यसको सही व्यवस्थापनका लागि सरकारले यथाशीघ्र पदाधिकारी नियुक्ति गर्नुपर्दछ । रासस