डेङ्गु रोगको सङ्क्रमण घट्यो, ५१९ जनामा डेङ्गु

dangue

चितवन, २२ कात्तिक –  चितवनमा प्रकोपका रुपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले कात्तिकको दोस्रो सातादेखि सङ्क्रमण दरमा न्यूनीकरण भएको बताए । तर पनि डेङ्गुका बिरामी भेटिने क्रम रोकिएको छैन, सचेतनामा स्थानीयवासीले ध्यान दिन जरुरी छ, केसीले भने ।

अहिले डेङ्गु फैलने मौसम पनि सकिन लागेको र लामो समयदेखि वर्षा रोकिएकाले भाँडामा पानी जम्ने क्रमसमेत रोकिँदा डेङ्गु घट्न थालेको हो । जाडो मौसममा डेङ्गु सङ्क्रमण न्यून हुन्छ ।

मुख्यगरी भाँडामा जमेको सफा पानीमा लामखुट्टेका लार्भा हुर्कने गर्छन् । भाँडामा पानी जम्न नदिए डेङ्गु सङ्क्रमणमा आफैँ न्यूनीकरण हुने चिकित्सकले बताएका छन् ।

जिल्लामा भदौ महिनादेखि कात्तिकको अहिलेसम्म ५१९ जनामा डेङ्गु रोग लागेको जनस्वास्थ्य कार्यालय चितवनले पुष्टि गरेको छ । तीमध्ये ७० देखि ८० प्रतिशत सङ्क्रमण रत्ननगर नगरपालिकामा छ । रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेलले विगतमा भन्दा अहिले अस्पतालमा डेङ्गुका बिरामी घटेको बताए ।

पहिले आएका बिरामीमध्ये अधिकांश डेङ्गुका हुन्थे, डा. पौडेलले भने – “अहिले बिरामी घटेका छन् । यसअघि भरतपुर र रत्ननगरको बजार क्षेत्रमा २० हजार घर अनुगमन गर्दा ८०२ घरमा डेङ्गु पोजेटिभ पाइएको थियो ।”

एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ ।

लामखुट्टेको टोकाइबाट बच्न सके रोग लाग्नबाट जोगिन सकिने छ । भाँडामा एक हप्तासम्म पानी जन्म नदिन चिकित्सकले स्थानीयवासीलाई सल्लाह दिएका छन् । ज्वरो देखिए चिकित्सकको सल्लाहमा औषधि लिनसमेत भनिएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा सचेतनामूलक कार्यक्रमलाई समेत जोड दिएको सूचना अधिकारी नरहरि शर्मा बताउछन् । यो वर्ष नेपालमा १३ जिल्लामा डेङ्गु देखिएको छ । यसको खास उपचार पत्ता नलागेकाले लक्षणका आधारमा औषधि दिने गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *