चिसापानी अस्पताल सञ्चालन हुदै
नवलपरासी, २२ कात्तिक – नवलपरासीको दोस्रो ठूलो सरकारी अस्पतालको रुपमा मान्यता पाएको चिसापानी अस्पतालले आफ्नो सेवा सुचारु गर्न तयारी पूरा गरेको छ ।
आगामी कात्तिक २४ गतेबाट नियमित रुपमा सेवा सञ्चालन गर्नका लागि आवश्यक सबै तयारी पूरा गरिएको चिसापानी अस्पताल विकास समितिले जनाएको छ ।
अस्पतालद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा अस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर आचार्यले अस्पतालले सेवा प्रदान गर्न तत्कालका लागि भाडाको घर लिई सेवा प्रारम्भ गर्न लागेको जानकारी दिए ।
सो अस्पताल स्थापना भएपछि विशेष गरी दाउन्ने बारीको राजमार्ग क्षेत्रका स्थानीय, नवलपरासीको ग्रामीण क्षेत्रका १४ गाविसका जनतासहित सीमावर्ती भारतीय गाउँका बिरामी समेत लाभान्वित हुने छन् ।
कार्यक्रममा सांसद सिन्धु जलेसाले आफू उच्च शिक्षा हासिल गर्ने क्रममा चिसापानी क्याम्पसको चौरमा गर्भ अवस्थामा छट्पटाई राखेकी एक महिला देखेको स्मरण गर्दै सो स्मरणबाट प्रभावित भई यस अस्पताल खोल्न लागेको बताइन् ।
पत्रकार सम्मेलनमा जिल्ला स्वास्थ्य प्रमुख अरुणकुमार महतोले यो अस्पताल विशेष गरी दाउन्नेबारीका स्वास्थ्य संस्थाका लागि रिफर सेन्टरको रुपमा स्थापित हुने जानकारी दिए ।
यस अस्पतालबाट तत्कालका लागि बाहिर सेवा सहित जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालबाट पाइने खालका २० प्रकारको अन्य अत्यावश्यक सेवा समेत उपलब्ध हुने बताइएको छ ।
अस्पताल विकास समितिका सचिव कलम परियारले यस अस्पतालले विशेष गरी यस क्षेत्रमा रहेको गरिब विपन्न समुदाय स्वास्थ्य उपचारमा सहज पहुँच पुग्ने विश्वास लिएको बताए ।
सो अस्पतालको क्षमता हालका लागि १५ श्ययाको रहेको छ । सो अस्पतालमा तीन जना चिकित्सकसहित १९ जनाको दरबन्दी रहेको छ ।
पछिल्लो पटक नवलपरासीको चिसापानी अस्पतालसँगै सरकारले कास्कीको थुम्कीकोटमा समेत नयाँ अस्पताल स्थापना गरेको छ भने १२ वटा स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा क्षमता विस्तार गरेको हो ।
नवलपरासीमा यस अगावै १५ श्यया क्षमता रहेको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी रहेको छ । सो अस्पताललाई समेत अब ५१ श्यया बनाउने सरकारको तयारी अन्तिम चरणमा पुगको छ । रासस