बिपन्न बिरामीका लागि निजी अस्पतालले १० प्रतिशत बेड निशुल्क गर्नै पर्ने सरकारको निर्देशन

mohp-copy

काठमाडौँ, १३ कात्तिक – सरकारले गरीब विपन्न असाहाय तथा बेबारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचारको व्यवस्था गर्न निजी स्वास्थ्य संस्थाहरुलाई पुन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक महत्वको सूचना जारी गर्दै स्वास्थ्य संस्था स्थापना , सञ्चालन, तथा स्तरोन्नति मापदण्ड सम्वन्धी निर्देशिका २०७० ले तय गरेका मापदण्ड अनुसार १० प्रतिशत बेड निशुल्क गर्न निर्देशन दिएको हो ।

मन्त्रालय चिकित्सा सेवा महाशाखाद्धारा जारी सूचनामा निशुल्क उपचार प्राप्त गर्नको निम्ति विपन्न असाहाय, बेबारिसे, विरामीहरुलाई स्वयं घोषणा फारम भर्न लगाई उनीहरुको फोटो सहितको विबरण अस्पतालको परिसरमा सर्वसाधारण सबै जनताले देख्ने गरी टाँस्न समेत निर्देशन दिएको छ ।

यो व्यवस्थाले बास्तविक विपन्नले उपचार सेवा पाउने अपेक्षा गरिएको हुनसक्छ तर विपन्नको आत्मसम्मानमा ठेस पुग्ने कतिपयले बताउदै आएका छन् । ‘राज्यकोषबाट ठूलो रकम लिएर स्वदेश तथा विदेशमा गएर उपचार गराउनेलाई केही गर्नु नपर्ने तर जो निमुखा छ जो असाहाय छ, उसको फोटो सबैले देख्ने गरी राख्नुपर्ने ?’ डा. मनोज शर्माले भने ।

त्यसो त मन्त्रालयले यो नियम तीन बर्ष अघि नै ल्याएको हो । तर त्यसको लागू हुन सकेको छैन् । यो निर्देशिकाले नयाँ दर्ता हुने अस्पताल, तथा नविकरण गर्न आउने अस्पताल सबैले १० प्रतिशत सेवा दिनुपर्ने नियम छ । यस्तै पूर्वाधार, जग्गा, तथा उपकरण समेतको निश्चित मापदण्ड तोकिएको छ तर निजी अस्पताल सञ्चालकहरुले त्यतिवेला सरकारले ल्याएको सो नियम प्रति आपत्ति जनाएका थिए ।

हरेक महिना अस्पतालहरुले १० प्रतिशत बेडमा उपचार गरेको विवरण पठाउनुपर्ने व्यवस्था रहेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन् । केही अस्पतालले सो सेवा दिएको बताए पनि सो सेवा बास्तविक गरिबको हकमा नपुगेको बताइने गरेको छ ।

‘हामीले कोटा भन्दा बढी नै सुविधा दिएका छौँ होला, मन्त्री नेता, मन्त्रालयका उच्च अधिकारी प्रशासनिक निकाय प्रमुख तथा पहुँचवालाहरुले निशुल्क उपचार गराई रहनु भएको छ । यो जोडदा १० प्रतिशत भन्दा बढी हुन्छ ।’  एक जना निजी अस्पताल सञ्चालकले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *