आयुर्वेदिक औषधीको जानकारी दिने ग्रन्थ ‘चन्द्रनिघण्टु’को तेस्रो संस्करण बजारमा
काठमाडौँ, १० कात्तिक – विभिन्न जडिबुटीका रंगीन चित्रहरु , तिनका विशेषता, काम तथा उपयोगको बर्णन भएको प्राचीन हस्तलिखित ग्रन्थ चन्द्रनिघण्टुको तेस्रो संस्करण बजारमा आएको छ । सिंहदरबार बैद्यखाना विकास समितिले प्रकाशन गरेको निघण्टु नेपाली, संस्कृत, नेवारी तथा अंग्रेजी भाषामा लेखिएको छ ।
आयुर्वेदमा स्वास्थ्यको रक्षा एवं रोगीको रोगोपचारमा प्रयोग गरिने द्रव्यहरुको स्वरुप, परिचय, उपयोग, गुण कर्म आदि विवेचना सहितको संग्रहयुक्त कोषलाई निघण्टु भनिन्छ । निघण्टु नेपालका तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा तयार गरिएकोले यसको नाम चन्द्रनिघण्टु रहन गएको हो ।
समितिका प्रवन्ध निर्देशक एवं निघण्टु प्रकाशन समितिका सदस्यसचिव डा. राजेन्द्र गिरीले निघण्टुमा नेपालमा उपलव्ध ८ सय बढी जडिबुटीहरु र झण्डै २ दुई सय खनिज तथा जान्तव द्रब्यहरुको परिचय तथा उपयोगिता रहेको बताए । १९१८ सालामा लेखिएको यो ग्रन्थ नेपाल संस्कृत, नेपाली र नेवारी भाषामा बढो सुन्दर ढंगले लेखिएको बताए । अहिले समितिले त्यसलाई अंग्रेजी भाषामा समेत उल्था गरेको छ ।
खनिज तथा बनस्पचिको आयुर्वेदिक औषधीय गुण तथा प्रयोग गर्ने तरिका समेत भएकोले आयुर्वेदिक अध्ययनकर्ता, आयुर्वेदिक औषधि प्रयोगकर्ता अति उपयोगी हुने देखिन्छ । डा. गिरीले नेपाल जस्तो जडिबुटी तथा खनिजले सम्पन्न मुलुकमा अध्ययन तथा उत्खननमा यो ग्रन्थले महत्वपूर्ण टेवा दिने बताए ।
यसअघि दुई संस्करण प्रकाशित गरिसकेको समितिले प्रति संस्करण यसको मुल्य व्यक्तिगत दुई हजार र संस्थागत २ हजार पाँच सय तोकेको छ ।