रक्तदान गरेरै नथाक्ने कर्माचार्यले कसरी लेखे रक्तदान गीत ?
तपाईँले कत्तिको ख्याल गर्नुभएको छ ? हरेक जसो रक्तदान कार्यक्रममा नछुटी बज्ने दुईवटा गीत छन् । एउटा गीत ….”रक्तदान गरी गरौँ जीवन दान दानमा दान महादान रक्तदान !” अनि अर्को गीत …….”जीवन पुग्यो अठार बर्षमा, शुभारम्भ गरौँ रक्तदानको अपूर्व यो हर्षमा ।”

यो गीत सुन्ने वित्तिकै गायक को होला भनेर छुट्याउन समय लाग्दैन् । किनकी दुबै गीतमा नेपालका चलेका गायकद्धय रामेश श्रेष्ठ र प्रेमध्वज प्रधानले स्वरवद्ध गरेका हुन् । तर धेरैलाई थाह नहुनसक्छ यो गीतका रचनाकार प्रेमसागर कर्माचार्य हुन् ।
हजुर, उनै कर्माचार्य जो नेपालकै सबैभन्दा बढी पटक १४७ रक्तदान गरि आफ्नो अलग पहिचान बनाएका छन् । तिनै कर्माचार्यले लेखेका हुन् यी गीत ।
दिनरात विरामी र तिनका आफन्तलाई परेका रगतसम्वन्धी समस्या समाधान गर्न खटिने ५२ बर्षीय कर्माचार्यले आफ्नो एक सयौँ पटकको रक्तदानको अवसरमा १६ असोज २०६० मा यो गीति एल्बमको विमोचन गराएका थिए । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्यले यो रक्तदान गीत समाजकै नामबाट नामबाट गराएका थिए । त्यसयता हरेकजसो रक्तदान शिविरमा यिनै गीत बज्ने गरेका छन् ।
त्यसो त कर्माचार्य गीत संगितका उतीसारो साधक होइनन् । तर उनको रुची चाँही हो । ‘फुर्सद पाएका बेला गुनगुनाउने गर्छु मलाई माया प्रेम भन्दा पनि सामाजिक सरोकारका गीतहरु मनपर्छ, मानिसलाई जागरुक बनाउने गीत मनपर्छ,’ उनले भने ।
स्कुल पढ्दा देखिनै गीत कविता मुक्तकमा भाग लिन्थे कर्माचार्य । ‘कहिले पुरस्कार पाँउथेँ कहिले पाउथिन । तर लेख्न चाहि लेखिरहन्थे । कहिलेकाही पत्रपत्रिकामा दिन्थेँ र छपाउथेँ । तर एल्वम नै निस्केला भन्ने सोचेको थिइन ।’
‘रक्तदान शिबिर जहिले जहाँ राखे पनि आउनुहोस रक्तदान गर्नुहोस् भन्दै भट्याउन पर्ने । माइक हुने तर अन्य गीत बजाउन नसुहाउने भएका सिविरमा लगातार बोलाइरहनु पर्ने भयो । आइडिया लगाएँ एउटा गीत बनाइयो भने त दिनभर त्यो बजाइरहे हुन्छ । मानिसले त्यसैबाट थाह पाएर पनि आउन सक्छ । भन्ने लाग्यो । त्यसपछि यो गीत लेखेको हुँ,’ रक्तदान गरि गरौँ जीवन दान भन्ने अंश सुनाउँदै कर्माचार्यले भने ।
उनले आफ्नो गीतबाट धेरै जना प्रभावित भएर रक्तदानमा सरिक भएको समेत बताए । ‘संगीतले गजव गर्दो रहेछ , एक छिन गीत सुन्यो भने पनि मानिसलाई रक्तदान गरौँ गरौँ लाग्दोरहेछ । मैले त्यस्तो पाएँ,’ कर्माचार्यले भने ।
उनले गीत सार्वजनिक भएपछि मानिसहरुलाई रक्तदानका बारेमा धेरै जानकारी भएको उनको दावी छ । कतिपयले गीतसंगीतकै कारण रक्तदानका लागि जागरुक भएको उनले पाएका छन् । ‘त्यसैले यो गीतले ठूलो महत्व बोकेको छ’ कर्माचार्यले भन्छन् ।
कतिवेला लेख्छन गीत ?
दिनमा बीसौँ पचासौँ जनाले रगतका लागि फोन गर्छन् । उनी हरेक दिन विहानै देखि रातीसम्म सहयोग माग्नेहरुकै लागि कुदिरहेका हुन्छन् । हो त्यस्तै बेलामा रचेको हो यी दुवै गीत । तर राम्रो भयो ।
रक्तदान गरीगरौँ भन्ने गीत अहिले नेपाली सहित नेपाल भाषामा समेत रेकर्ड भइसकेको छ । अँग्रेजीमा हुने क्रममा छ । नेपाल भाषामा अनुवाद कवि दुर्गालाल श्रेष्ठले गरेका हुन् । अंग्रेजी भाषाको अनुवाद भने शान्तदास मानन्धरले गरेका हुन् ।
पुराना यी दुबै गीतलाई गतवर्ष कर्माचार्यले रिमेक गरेका छन् । उनै रामेशसंग रत्नशोभा र रानीशोभा तथा दीपा महर्जनले गाएका छन् ।
‘कहिलेकाँही विरामीका मान्छेलाई पर्खिदा, कहिले मोटरसाइकल हाकिरहँदा गीतका शव्दहरु फुर्छन अनि टिपी हाल्छु । फुर्सदमा त्यसलाई लिपिवद्ध गर्छु । यस्ता धेरै गीतहरु मैले तयार पारेको पनि छु । उनले भने तर पनि म प्रोफेसनल गीतकार होइन । म त विशुद्ध रक्तदाता,’ मुसुक्क हाँस्दै उनले भने ।