स्क्रब टाइफसबाट ६ महिनामा नौजनाको मृत्यु

typus

(नारायण ढुंगाना) चितवन, ३ कात्तिक – देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ ।

विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ ।

महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले सङ्क्रमण भएका मध्ये दुईवटै रोगका बिरामी सबैभन्दा धेरै चितवनमा देखापरेको जानकारी दिए । “केही जिल्लाको पछिल्लो विवरण आउन बाँकी भए पनि अहिलेसम्म प्राप्त विवरणअनुसार नेपालका ३८ जिल्लामा टाइफसको सङ्क्रमण भएको छ”, शर्माले भने, “चितवनलगायत केही जिल्लामा डेङ्गु सङ्क्रमणसमेत बढेको छ ।”

चितवनसहित नवलपरासी, कपिलवस्तु, मकवानपुर जिल्लामा समेत डेङ्गु देखिएको छ । डेङ्गु र स्क्रब टाइफस रोगबाट चितवन जिल्लामा मात्रै पाँच सय २६ जना सङ्क्रमित भएका छन् । बाँकी एक सय पाँचजना मात्रै अन्य जिल्लाका अस्पतालमा उपचार गरिएका बिरामी हुन् जसमा डेङ्गुका २७ र स्क्रब टाइफसका ७८ जना चितवनबाहिर रोग पुष्टि भएका बिरामी छन् । अरू सबै चितवनमा पुष्टि भएका बिरामी हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले डेङ्गुबाट चितवनमा उपचार गरेका दुई सय १९ र स्क्रब टाइफसबाट हालसम्म तीन सय सातजना सङ्क्रमित भएको जानकारी दिए। उनले डेङ्गुको सङ्क्रमण बढ्दो रहे पनि स्क्रब टाइफसको सङ्क्रमण दरमा केही घटेको पाइएको बताए ।

इपिडिमियोलोजी शाखाप्रमुख डा शर्माका अनुसार २०७३ सालको वैशाखदेखि अहिलेसम्म नेपालमा स्क्रब टाइफसबाट नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई, सङ्खुवासभाका दुई, कैलालीका दुई, तनहुँका एक, गुल्मीको एक र भोजपुरका एकजना छन् । अघिल्लो वर्ष एक सय एकजनामा टाइफस सङ्क्रमण हुँदा आठजनाको मृत्यु भएको डा शर्माले जानकारी दिए ।

स्क्रब टाइफस एक वर्षअघि मात्रै नेपालमा सङ्क्रमण पुष्टि भएको रोग हो भने डेङ्गु रोग २०६७ सालमा चितवनमा महामारीका रुपमा फैलिएको थियो । चितवनमा दुईवटै रोगको परीक्षणमा चितवनमा नेपाल सरकारले निःशुल्क कीटको व्यवस्था गरेको छ भने जिल्लामा नियन्त्रण अभियानसमेत सञ्चालन गरेको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइरालाले जानकारी दिए । चितवनको पनि रत्ननगरमा अहिले डेङ्गुको प्रकोप बढ्दो रहेको उनको भनाइ छ । चितवनमा भएको मध्ये रत्ननगरमा मात्र ८० प्रतिशत डेङ्गुको सङ्क्रमण फैलिएको छ ।

एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ भने उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा हुर्कन्छ । रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु र कुनै पनि खुला भाँडो या बट्टामा पानी जम्न दिन नहुने चिकित्सकले बताएका छन् ।

यस्तै, स्क्रब टाइफस रोग मुसाको कानमा बस्ने माइट नामको सूक्ष्म किराले टोकेमा सर्छ । मुसाको कानमा बसेर अघाइसकेपछि झार या झाडीमा झर्ने र त्यहाँ मानिस पुग्दा टाँसिएर टोक्छ र टाइफस रोग सर्ने गर्छ । चितवनमा अघिल्लो महिना मुसा र माइटमा गरिएको परीक्षणमा समेत दुवैमा टाइफसको सङ्क्रमण भएको पाइएको इपिडिमियोलोजी महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताए ।

डेङ्गु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, प्लेटलेट घट्ने हुन्छ ।

स्क्रब टाइफस रोग लाग्दा भने एकसय चार डिग्रीभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, विभिन्न टोकेको ठाउँमा रातो डाबर आउने र शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ । यस्ता लक्षण देखिने बित्तिकै चिकित्सकसँग परामर्श गरेर मात्रै औषधि लिन जनस्वास्थ्य कार्यालय चितवनले सर्वसाधारणमा अनुरोध गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *