जिल्ला अस्पतालमा एन्टीरेबिज भ्याक्सिन आएन

jajarkot-hospital

जाजरकोट, ६ असोज – जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगति विवरण नपठाएपछि रेबिज विरुद्धको भ्याक्सिन जिल्ला अस्पतालमा आएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्तो हात फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रगति विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालयमा एउटा पनि रेबिजविरुद्ध लगाउने भ्याक्सिन नहुँदा बिरामी मर्कामा परेको खोपका फोकल व्यक्ति रामपुकार शाहले बताए ।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आवश्यक विद्युत्को अभावमा भ्याक्सिन सदरमुकाममा राख्ने गरिएका कारण सबै बिरामी सदरमुकाममा आउने गर्दछन् । त्यहाँ नै खोप नहुँदा दैनिक रित्तो हात फर्कने गरेको पाइएको छ । सक्ला–१ लैखमका धनबहादुर खत्रीलाई बहुलाएको कुकुरले टोकेपछि एक दिन हिँडेर सदरमुकाम आएपनि भ्याक्सिन नहुँदा रुकुमको चौरजहारीमा गएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयले कहिले प्रगति विवरण पठाउने हो अनि कहिले भ्याक्सिन आउने हो अन्यौल भएको एक स्वास्थ्यकर्मीले बताए । औषधिको स्टोर सम्हाल्दै आएका लमबहादुर खड्काले समेत प्रगति विवरण नपठाएका कारण समस्या भएको बताए ।

यसभन्दा एक महिनाअघि सर्पदंशको औषधि लुकाएर बिरामी रुकुमको चौरजहारी अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयले नै रिफर गरेको थियो । यसको समाचार प्रकाशन भएपछि चौरजहारी अस्पताललाई जाजरकोट स्वास्थ्य कार्यालयले नै सर्पदंशको औषधि दिन बाध्य भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *