बहुलाहा कुकुरको टोकाइबाट दुईको मृत्यु
रोल्पा, ५ असोज – सिर्प गाविसमा बहुलाहा कुकुरको टोकाइबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिर्प–५ सीमेगिठाका ६५ वर्षीय करे पुनमगर र ५३ वर्षीय हिराबहादुर पुनमगर रहेका छन् । करेको आज घरमै मृत्यु भएको हो । उनलाई बहुलाहा कुकुरले टोकेको थियो ।
त्यस्तै बहुलाहा कुकुरले टोक्दा घाइते भएका हिराको उपचारका लागि बुटवल लैजाँदै गर्दा यही असोज २ गते मृत्यु भएको हो ।
स्थानीय नेमबहादुर खड्का अनुसार बहुलाएको कुकुरले एकै दिन छ महिलासहित ११ पुरुष र छवटा चौपायलाई टोकेको थियो । बहुलाहा कुकुरले टोकेपछि घाइते केहीले सुलिचौरस्थित नेसनल मेडिकलमा रेविजविरुद्धको भ्याक्सिन लगाएका थिए ।
स्थानीयले गाउँका ४५ वटा कुकुर मारेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका सिनियर अहेव मोटिम आलमका अनुसार घाइतेलाई ‘रि–भ्याक्सिन’का लागि बुधबार स्वास्थ्य केन्द्र बोलाइएको छ । रासस