लाम्रा पूर्णखोप सुनिश्चित गाविस

0
Shares

जुम्ला, ८ साउन –  आवश्यक न्यूनतम् सूचक सबै पूरा गरेको यहाँको लाम्रा गाविसलाई पाँचौँ पूर्णखोप सुनिश्चित गाविस घोषणा गरिएको छ ।

पूर्णखोप सुनिश्चित गाविस घोषणाको उद्घाटन जिल्ला खोप समन्वय समिति जुम्लाका अध्यक्ष तथा निमित्त स्थानीय विकास अधिकारी क्षेत्रबहादुर बुढ्थापाले गरे । निमित्त स्थानीय विकास अधिकारी बुढ्थापाले पूर्णखोप सुनिश्चित गाविस घोषणा गर्न सघाउ पु¥याउने महिला स्वास्थ्य स्वयम्सेविका, स्थानीय समुदाय र स्वास्थ्य चौकी इञ्चार्जलाई धन्यवाद दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रपसाद पण्डितले पाँच वटा गाविस मात्र नभई सन् २०१७ सम्ममा जुम्लालाई पूर्णखोप जिल्ला घोषणा गरिसक्ने लक्ष्यका साथ यो अभियान तीव्र बनाएर लैजाने प्रतिबद्धता गरे। उनले यस अवस्थालाई संस्थागत गर्न नागरिक सचेतना र राष्ट्रसेवक कर्मचारीको जिम्मेवारी त्यतिकै आवश्यक रहेको औँल्याए ।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका खोप सुपरभाइजर मणिकृष्ण उपाध्यायले पटमारा, ताम्ती र शनिगाउँ, मालिकाबोतापछि लाम्रा पाँचौँ पूर्ण खोप सुनिश्चित गाविस घोषणा गर्न अग्रसर समुदायप्रति प्रशंसा गरे। ४०९ बालबालिका मध्ये १३१ जनामा गरिएको सर्भे र पूर्व सर्भेलाई आधार बनाएर यो गाविसलाई पूर्णखोप सुनिश्चित गाविस घोषणा गरिएको सुपरभाइजर उपाध्यायले बताए। उनका अनुसार यसको लगत्तै हाँकु र पाण्डवगुफा गाविसलाई पूर्णखोप गाविस घोषणा गर्ने कार्यक्रम रहेको छ ।

लाम्रा स्वास्थ्य चौकी इन्चार्ज गुरुप्रसाद चौलागाईंले यो गाविसस्थित ५९० घरधुरीका एक वर्षमुनिका ६४ र १२ देखि २३ महिनासम्मका ६१ जना बालबालिकालाई बिसिजी, डिपिटी, पोलियो र दादुरा खोप पूर्णरुपले लगाइएको बताए । उनका अनुसार यो वर्षभित्रै लाम्रालाई बालमैत्री गाविस घोषणा गर्न पूरा गर्नुपर्ने २७ वटा सूचकमध्ये स्वास्थ्यका १० सूचक पूरा गर्नेतर्फ पनि लागिएको छ ।

-रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *