यस कारण दुख्छ छाती

DR_OM
डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

मुटुको दुखाइ :

छातीको बीच भाग वा दायाँबायाँ एकनास दुख्ने, दबाब महसुस हुने तथा पोल्ने भयो भने मुटुको दुखाइले हो । यो दुखाइको तीव्रतामा कम या बढी हुन सक्छ । दुखाइसँगै पसिना आउने, बान्ता हुन खोज्ने, धड्कन बढ्ने, डर लाग्ने र कमजोर हुनेजस्ता लक्षण देखिएमा हृदयाघात हुन सक्छ । हृदयाघातमा छातीको दुखाइ, देब्रे हात, घाँटी, दाँत वा पिठ्युँमा पनि सर्न सक्छ । धुम्रपान, गर्ने, मधुमेह, उच्च रक्तचाप, उच्च कोलस्ट्रोल भएकाले बढी सावधानी अपनाउनुपर्छ ।

फोक्सोको दुखाइ :

लामो श्वास लिँदा वा फेर्दा छातीको एकातिर (दायाँ/बायाँ) करङमा चसक्क दुख्नु फोक्सोको दुखाइ हो । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । फोक्सोमा समस्या हुँदा स्वाँ–स्वाँ हुने र ज्वरो आउने पनि हुन सक्छ । निमोनियाका कारण पनि फोक्सोको दुखाइ हुन्छ । यस्तो समस्या भएमा जनरल फिजिसियन वा छातीरोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

मांसपेशी या हड्डीको दुखाइ :

छातीको दायाँ भाग, पछाडि वा छेउतिर करङमा दुख्यो भने त्यो मांसपेशी वा हड्डीको समस्याले हुन सक्छ । यो भागमा दुख्दा मुटुको समस्या हुने सम्भावना कम हुन्छ । हातले छाम्दा, सास फेर्दा पनि दुख्ने हुन्छ । छातीको घुमाइसँगै दुखाइमा परिवर्तन आएमा मांसपेशी र हड्डीको दुखाइ हुन सक्छ । यस्तो समस्यामा हाडजोर्नी विशेषज्ञको सल्लाह लिँदा राम्रो हुन्छ ।

छाला र नसाको दुखाइ :

छातीको भागको छालामा संक्रमण हुँदा पनि छातीमा दुखाइ हुन्छ । हेरपस भाइरस संक्रमण भएको ठाउँको छालामा दुखाइ अत्यधिक हुन्छ । छालामा संक्रमणको दुखाइ बाहिरी सतहमा बढी हुने भए पनि भित्रसमेत दुख्न सक्छ । छातीवरपरको नसामा समस्या देखिए पनि छाती दुख्न सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *