नक्कली चिकित्सकविरुद्ध बिरामीको उजुरी

doctor clip

काठमाडौं, १६ असार  –  नेपाल प्रहरीका पूर्वडिएसपी रुद्र निरौला ढाड दुखेपछि चार वर्षअघि चेकअपका लागि नर्भिक अस्पताल पुगे । डा. अरुण गुप्ताले उनको चेकजाँच गरी औषधि दिए । दुई सातासम्म औषधि खाँदा पनि उनको समस्या समाधान भएन । खाली निद्रा मात्र लागिरहने समस्या उनमा देखियो ।

समस्या लिएर उनी फेरि नर्भिक अस्पताल गए । ‘तर तीनपटक जाँदा पनि उनलाई भेट्न सकिन,’ निरौला भन्छन्, ‘पछि बुझ्दा उनले मलाई ढाडको औषधि भनेर एक किसिमको पेनकिलर दिएका रहेछन्, पछि अरू चिकित्सकमार्फत उपचार गराएँ ।’

प्रहरी हिरासतमा डा.  गुप्ता

तिनै व्यक्ति हुन्, जो अन्य ३५ जना चिकित्सकसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो [सिआइबी]को हिरासतमा छन् । उनीविरुद्ध सोमबार पूर्वडिएसपी निरौलाले आफूलाई गलत उपचार गरेको भन्दै उजुरी दिएका छन् । गुप्ताविरुद्ध गोरखाका सत्यजित श्रेष्ठ तथा धर्मस्थलीका चित्ररेखा भण्डारीले पनि उजुरी दिएका छन् ।

उनको उपचारले आफूहरूको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै उनीहरूले उजुरी गरेका हुन् । पक्राउ परेका प्रमाणपत्रधारी चिकित्सकहरूविरुद्ध पीडितहरूको उजुरी आउन थालेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।

श्रेष्ठद्वारा डेढ लाख बिगो मागदाबी

सत्यजित श्रेष्ठले आफ्ना बुबा भैरव श्रेष्ठको उपचारका क्रममा डा। गुप्ताले गम्भीर लापरबाही गरेको भन्दै उजुरी गरेका हुन् ।

उनले डेढ लाख बिगो दाबी गरी उजुरी गरेका हुन् । यतिवेला उपचार गरेको कागजपत्रसहित नक्कली प्रमाणपत्रधारी चिकित्सकहरूविरुद्ध उजुरी आउन थालेको ब्युरोका एसपी तारिणी लम्सालले बताए ।

आम्दानीलाई ठगीको बिगो बनाइने

पक्राउ परेका सबै नक्कली प्रमाणपत्रधारी चिकित्सकको सिआइबीले बयान लिइसकेको छ । पक्राउ परेकाले बयानको क्रममा आफूहरूले नक्कली प्रमाणपत्र प्रयोग गरेको अस्वीकार गरेका छन् । तर, बिहार बोर्डले उनीहरूको आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि गरिसकेको छ । कतिपयले भर्ना नै नभई बिहारका विभिन्न कलेजबाट सर्टिफिकेट बनाएको, केहीले नम्बर थपेको तथा केहीले अरूको रजिस्ट्रेसन नम्बर प्रयोग गरी सर्टिफिकेट निकालेको सिआइबीका एसपी लम्सालले बताए ।

एमबिबिएस पढ्न आइएस्सीमा उच्च स्कोर चाहिने भएकाले उनीहरूले यसरी नक्कली सर्टिफिकेट बनाएका हुन् । पक्राउ परेकालाई यही साताभित्र प्रहरीले मुद्दा दायरको तयारी गरिरहेको छ । पक्राउ परेका ३६ जना चिकित्सकलाई उनीहरूले चिकित्सा पेसाबाट गरेको आम्दानीलाई ठगीको बिगो बनाउने भएको छ ।

सरकारी अस्पालमा काम गरेकालाई सरकारी तलबअनुसार र अन्यलाई सम्बन्धित अस्पतालबाट विवरण संकलनको काम भइरहेको सिआइबीले जनाएको छ । यसअघि मेडिकल काउन्सिल ऐनअनुसार सिआइबीले मुद्दा चलाउादा उनीहरू सामान्य धरौटीमै छुटेका थिए ।

नक्कली प्रमाणपत्रका आधारमा चेकजाँच गरेर सर्वसाधारणलाई ठगी गरेकाले उनीहरूको कमाइलाई बिगो बनाउन लागिएको सिआइबीका एक अधिकारीले बताए।

गुप्ताको आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली

तीनवटा उजुरी परेका डा. गुप्ताको आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सिआइबीले जनाएको छ । वीरगन्जको श्री जुद्ध हाइयर सेकेन्डरी स्कुलबाट एसएलसी उत्तीर्ण गरेका उनले बिहारको मुजफ्फरपुर कलेजबाट आइएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र बनाएका थिए । सोही आधारमा पिपुल्स फ्रेन्डसिप युनिभर्सिटी मस्कोबाट उनले सन् १९९९ मा एमबिबिएस उत्तीर्ण गरेका हुन् ।
आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेख्नुभएको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *