आजदेखि इलाममा समेत स्वास्थ्य बिमा सुरु

 

 

डा. गुणराज लोहनी कार्यकारी निर्देशक सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति

इलाम, १५ असार –  जिल्लामा आजदेखि सामाजिक सुरक्षा स्वास्थ्य विकास कार्यक्रम [स्वास्थ्य बिमा] आजदेखि सुरू भएको छ। जिल्ला स्वास्थ्य सुरक्षा संयोजन समितिका अनुसार असारमा स्वास्थ्य बिमा गरेका नागरिकले भदौबाट सेवा पाउने छन् ।

सामाजिक स्वास्थ्य विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले यसअघि कैलालीमा सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएपछि इलाममा समेत सफल हुने विश्वास व्यक्त गरे ।

“कार्यक्रम प्रभावकारी रुपमा लागु गर्न कर्मचारी र स्वयम् सेविकालाई तालिम दिएर दक्ष बनाएका छौँ,” उनले भने। कार्यक्रममार्फत वर्षको तीन चरणमा बिमा दर्ता गरिने छ । वैशाख, जेठ र असारमा दर्ता गरेकाले भदौदेखि सुविधा पाउने छन् । साउन, भदौ, असोजमा बिमा दर्ता गराएकाले मङ्सिरदेखि सुविधा पाउने छन् । त्यस्तै कात्तिक, मङ्सिर, पुसमा बिमा गराएकाले फागुनदेखि र माघ, फागुन, चैत महिनामा बिमा दर्ता गरेकाहरूले जेठदेखि सुविधा पाउने बताइएको छ ।

स्वास्थ्य बिमाका लागि पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० तिर्नु पर्नेछ भने एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई रु ५० हजारसम्मको स्वास्थ्य सेवा [उपचार, निदान र औषधि] प्रदान गरिने छ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिने छ ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल र सरकारी स्वामित्वका केन्द्रीय अस्पतालबाट उपचार सुरू गरिने निर्देशक लोहनीले बताए । पाँचजना भन्दा बढी भएका परिवारले प्रति सदस्य रु ४२५ का दरले बिमा रकम थप्नुपर्नेछ । पाँचजना भन्दा बढी परिवार सङ्ख्या भएकाहरूका लागि प्रतिव्यक्ति रु १० बराबरको सेवा थप हुनेछ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत अधिकतम रु एक लाखसम्मको स्वास्थ्य सेवा प्रदान गरिने व्यवस्था मिलाइने छ । बिमा बर्सेनि उत्ति नै रकम तिरेर नवीकरण गर्नुपर्नेछ । बिमा गरेको परिवारको सदस्यले स्वास्थ्य सेवा लिनका लागि परिचय–पत्र लिएर स्वास्थ्य संस्था जानुपर्ने छ भने उपचार खर्चबापतको रकम कार्यक्रममार्फत सिधै स्वास्थ्य संस्थाले पाउने छन् । जिल्लामा ६४ जना कर्मचारी परिचालन गरिएका छन् ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *