जर्मनी राजदूतद्वारा अस्पताल भवन हस्तान्तरण

0
Shares

hospital trisuli

नुवाकोट, ६ असार – जर्मन सहयोग नियोग (जिआइजेड)ले निर्माण गरेको सुविधा सम्पन्न प्रि–फ्याव भवन आज एक कार्यक्रमका बीच जर्मनी राजदूत म्याथियज मेयरले जिल्ला अस्पताल त्रिशूलीलाई हस्तान्तरण गरेका छन् ।

अस्पताललाई भवन हस्तान्तरण गर्दै राजदूत मेयरले आफूले थुप्रै स्वास्थ्य संस्था र अस्पतालका भवनहरु हेरेकामा नुवाकोटमा निर्माण भएको अस्पतालको भवन निकै आकर्षण र सुविधा सम्पन्न रहेको बताए ।

उनले भूकम्पका कारण क्षति व्यहोरेको नेपालका १४ वटा जिल्लामा जर्मनी सरकार भौतिक संरचना पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताए।

जिआइजेडले छ महिना लगाएर १५ शैया क्षमताको सुविधा सम्पन्न भवन निर्माण गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

जिआइजेडका सिद्धार्थ नरसिंह शर्माका अनुसार १७ वटा कोठा तयार गर्न रु एक करोड २२ लाख खर्च भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव पदमबहादुर चन्दले भूकम्प गएको १४ महिनापछि पनि बिरामीलाई पालमा राखेर उपचार गराइरहनुपर्ने बाध्यतालाई चाँडै नै अन्त्य गर्नुपर्नेमा जोड दिए।

जिल्ला त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले नुवाकोट, रसुवा र धादिङ जिल्लाका नागरिकले नियमित सेवा लिइरहेको जिल्ला अस्पताल त्रिशूलीलाई पूर्ण क्षमताको बनाइने बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सुविधायुक्त अस्पताल भवन ग्रामीण भेगमा पनि आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख विश्वराम श्रेष्ठले जिल्लामा ८१ वटा स्वास्थ्य संस्थाको भवन बनाउनुपर्ने अवस्था रहेको जानकारी गराए ।  – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *