आठ लाखमा एमबीबीएसको सर्टिफिकेट किनेर डाक्टर !

DSC00330काठमाडौँ – इटहरीस्थित पशुपति मोडल हस्पिटल एण्ड रिसर्च सेन्टरका डा पशुपति चौधरीले पटना मेडिकल कलेजबाट आठ लाखमा एमबीबीएस प्रमाणपत्र खरीद गरेको पुष्टि भएको छ । चौधरीले पनि आरोप स्विकार गरेका छन् ।

‘अरुले एमबीबीएस र पढ्न प्लस टू र एसएलसीको नक्कली प्रमाणपत्र बनाएका थिए । चौधरीको त एमबीबीएसकै प्रमाणपत्र नक्कली भएको खुलेको छ,’ केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीका निर्देशक डीआईजी हेमन्त मल्लले भने ।

पक्राउ परेका १३ मध्ये केहीको एमबीबीएसकै प्रमाणपत्र समेत नक्कली रहेको मल्लले बताए । यसअघि प्रहरीले एसएलसी र प्लसटू तहको प्रमाणपत्र मात्र नक्कली भएको खुलेको थियो ।

२३ जना चिकित्सक नक्कली, १३ जना पक्राउ

हालसम्म अनुसन्धानमा विभिन्न अस्पतालमा कार्यरत २३ जना चिकित्सक नक्कली भएको पुष्ठि भइसकेको छ । जसमध्ये १३ जना पक्राउ परिसकेका छन् ।

सीआईबीेले शनिबार १२ जना सार्वजनिक गरेकोमा आइतबार थप एक पक्राउ परेका छन् । सगरमाथा अञ्चल अस्पतालमा कार्यरत राजेन्द्रप्रसाद दासलाई प्रहरीले पक्राउ गरेको हो । उनले पनि एमबीबीएस पढनका लागि भारतबाट नक्कली प्रमाणपत्र बनाएका थिए ।

प्रहरीले झापाको बीएन सी अस्पतालमा रामबाबु गिरी, विराटनगरस्थित गोल्डेन अस्पतालका मो. कमरुल हक, कोशी अञ्चल अस्पतालका तुलसीकुमार महतो, ग्लोबल अस्पताल सिराहाका मो अहमद सिद्धिकी, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादवलाई पक्राउ गरेको थियो ।

त्यस्तै चानसी मेडिकल हल जनकपुरका कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्स भरतरपुर कि विनिता यादव, अजित मेडिकल हल जनकपुरका भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिकका सैलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलवस्तुमा अफजैल हुसेन, ग्लोबल अस्पताल ग्वार्कोमा कार्यरत श्यामबाबु साह पनि सीआईबीको हिरासतमा छन् ।

उनीहरु बिरुद्ध आइतबार सीआईबीले ठगी मुद्धामा १० दिन थुनामा राख्ने म्याद लिएको छ । उनीहरुको उपचारबाट कसैको मृत्यु भएको तथा शरीर अंगभंग भएको हुनसक्ने भएकोले त्यसतर्फपनि अनुसन्धान हुने डीआईजी मल्लले बताए ।

लाइसेन्स परीक्षामा २९ पटक सम्म फेल !

अनुसन्धानमा रहेका ग्लोबल अस्पताल सिराहमा कार्यरत मोहमद अहमद सिद्धिकी मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा २९ पटक सम्म फेल भएको सीआईबीका डिएसपी फुयालले बताए ।

काउन्सिलले बर्षमा तीन पटक सम्म एमबीबीएसको लाईसेन्स परीक्षा लिने गर्छ । उनी १० बर्ष देखी परीक्षा दिँदा पनि असफल भएका थिए । प्लस टूको पनि नक्कली सर्टिफिकेट बनाई उनले एमबीबीएस पढेका थिए ।

चीन बंगलादेश पाकिस्तान तथा रुसका कतिपय मेडिकल कलेजमा भर्ना भएपछि सामान्य तया फेल हुदैनन् । तर नेपालमा काम गर्नलाई लाइसेन्स परीक्षा उत्तीर्ण भएकै हुनुपर्छ ।

–  आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *