विमानस्थलको भन्सारमा रहेको ६० करोडको औषधि जफत

नेपाली हेल्थ/काठमाडौँ-

medicines-l

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा पाँच महिनादेखि अलपत्र करिब ६० करोडको औषधि सरकारले जफत गरेको छ । अलपत्र औषधिको हकदाबी गर्न दिइएको गत सोमबारसम्म दिइएको समयमा कोही सम्पर्कमा नआएपछि मंगलबार विमानस्थल भन्सारले औषधि जफत गर्ने निर्णय गरेको हो ।

विमानस्थल भन्सारले गत १४ मंसिरमा एक साताभित्र औषधि हकदाबी गर्न आउन सूचना निकालेको थियो । गत वैशाखमा गएको भूकम्पका घाइतेलाई सहयोग पुर्‍याउन भन्दै विभिन्न संघ–संस्थाले २० असारपछि पठाएको करिब डेढ अर्ब रुपैयाँबराबरको औषधिमध्ये विमानस्थल भन्सारमा ६० करोडभन्दा बढीको औषधि अलपत्र परेको थियो । बाँकी औषधि वीरगन्ज भन्सारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भन्सारमा रहेका ती औषधिमध्ये करिब १० प्रतिशतको म्याद गुज्रेको प्राविधिकले बताएका छन् ।

भूकम्पपीडितको राहतका लागि आएका औषधि सुरुमा शून्य भन्सारदरमा निकासी गरे पनि भन्सार विभागले २० असारपछि ल्याइएकामा भने १ प्रतिशत शुल्क लिने निर्णय गरेको थियो । कर तिर्नुपर्ने भएपछि करोडौँ मूल्यको औषधि लिन कोही पनि नगएका हुन् । भारतको नाकाबन्दी र मधेस आन्दोलनले देशभर औषधि अभाव भएका वेला सरकारले अलपत्र रूपमा रहेका तिनै औषधि सदुपयोग गर्न खोजेको हो ।
विमानस्थल भन्सारका प्रमुख भन्सार अधिकृत केशव उप्रेतीले राहतका नाममा २० असारपछि आएका सबै औषधि जफत गरिएको जानकारी दिए । उनले लिलाम गर्ने वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने भन्ने विषयमा निर्णय नभइसकेको बताए । स्वास्थ्य मन्त्रालयबाट आउने चिठीका आधारमा त्यसबारे निर्णय लिने उनको भनाइ छ ।

विमानस्थल भन्सारका प्रमुख शिशिरकुमार ढुंगानाले नाकाबन्दीले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावबारे सबैलाई जानकारी भएको भन्दै सो औषधि स्वास्थ्य मन्त्रालयलाई दिने तयारी भएको बताए । केही कागजी प्रक्रिया प्राप्त भए सो औषधि तत्कालै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने उनले बताए ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिं टिंकरीले औषधि हस्तान्तरण प्रक्रिया सम्भवत: बुधबारबाटै सुरु हुने बताए । उनले भन्सारको औषधि आएपछि केन्द्रीय, क्षेत्रीय तथा जिल्ला अस्पतालमा आवश्यकताका आधारमा वितरण गरिने जानकारी दिए ।

मन्त्रालयका उपसचिव राजीव पोखरेलले त्रिभुवन विमानस्थल भन्सारका औषधि ल्याउन प्रक्रिया अघि बढिसकेको भन्दै केही दिनमै आउने बताए । उनले आधाभन्दा बढी मात्रामा वीरगन्ज भन्सारमा औषधि रहेको जानकारी दिए ।

अमेरिकी गैरसरकारी संस्था प्रोजेक्ट होपले हवाई र स्थलमार्ग हँुदै पठाएको करिब ८० करोड बढी मूल्यको औषधि त्यत्तिकै थन्किएको थियो । त्यस्तै, अमेरिकामा बसोबास गर्ने सिन्धुपाल्चोकवासीले खोलेको संस्था सिन्धु युएसए वेलफेयर सोसाइटीले आफ्नो जिल्लाको भूकम्पपीडितका लागि पठाएको करिब ९२ लाख मूल्यको औषधि भन्सारमा रोकिएको थियो । यीबाहेक अन्य तीनवटा विदेशी संस्थाले पठाएका करोडौँ मूल्यको औषधि एयरपोर्टमै थियो ।

-आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *