नेपालमा दैनिक चार जनामा एचआईभी संक्रमण

नेपाली हेल्थ / काठमाडौँ, १३ मंसिर-

hiv

नेपालमा प्रत्येक दिन करीब चार जना नयाँ व्यक्ति एचआईभीको संक्रमणमा पर्ने गरेका छन् । बार्षिक करीब १ हजार ४ सय ९३ जना नयाँ व्यक्तिमा देखिने एचआईभीको संक्रमणमा पुरुषको संख्या ९२७ छ भने महिलाको संख्या ५६६ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरेको प्रतिवेदनमा संक्रमितहरुको संख्या भने अघिल्ला बर्षको तुलनामा कम भएको देखिएको छ । केन्द्रका अनुसार एचआईभी संक्रमितको संख्या हाल नेपालमा ३९ हजार २४९ जना रहेको अनुमान छ । अघिल्लो बर्ष यो संख्या करीब ४२ हजार थियो ।

केन्द्रका अनुसार १४ बर्ष मुनिका एचआईभी संक्रमित बालबालिकाको संख्या १ हजार ९६८ जना रहेको छ । १५ देखी ४९ बर्ष उमेर समूहका संक्रमितको संख्या २८ हजार ८६९ जना र ५० बर्ष माथिका संक्रमितहरुको संख्या ८ हजार ४१२ जना रहेको छ । केन्द्रले ४९८ जना गर्भवती महिलाहरुमा समेत एचआईभी देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

विश्व एड्स दिवसको अवसरमा आइतबार केन्द्रद्धारा आयोजित कार्यक्रममा निर्देशक डा दीपेन्द्ररमण सिंहले संक्रमणदर घट्दै गएपनि चुनौती कायमै रहेको बताए । उनले अझै पनि कतिपय व्यक्ति उपचारको पहुचमा नपुगेको र संक्रमित व्यक्तिलाई भेटाउन नसकिएको बताए । एचआईभी एड्स सम्वन्धी लान्छना तथा भेदभाव कम हुदै गएको र एआरभी औषधिको पहुच बढदै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी भएको जानकारी दिए ।

केन्द्रका सूचना अधिकृत बीर बहादुर रावलले नेपालमा एचआईभी नियन्त्रणमा प्रगति हुदै गएको भन्दै कतिपय चुनौती कायमै रहेको बताए । उनले जनचेतना तथा उपचारको पहुचमा बृद्धि हुँदै जाँदा एचआईभी संक्रमणदर कमी हुदै गएको बताए ।

राष्ट्रिय एचआईभी/एड्स महासंघका अध्यक्ष अच्युत सिटौलाले संक्रमितका लागि दिदै आएको सहयोग दातृसंस्थाहरुबाट कटौती हुदै गईरहेको अवस्थामा सरकारका तर्फबाट बजेट बढाउनुपर्ने माग गरे । उनले देशका धेरै ठाउमा एआरटी सेन्टर नहुदा अहिले पनि धेरै व्यक्तिहरु उपचारको पहुचमा नपुगेको बताए ।

सन २०१४को अन्त्यसम्म संसारमा ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । जसमा २० लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ । तर यो सन २००० को तुलनामा ३५ प्रतिशतले कमी हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *