सकिनै लाग्यो रगत भर्ने झोला

Blood-Bagकाठमाडौं, २ मंसिर-

भारतले लगाएको नाकाबन्दीले आपूर्ति अवरुद्ध हुँदा बजारमा रक्त संकलन झोलाको अभाव हुन थालेको छ । उपत्यकाका अस्पतालमा पनि यस्ता झोला सकिन लागेकाले रगत संकलनमै समस्या पर्ने अवस्था आएको छ ।अस्पतालका अनुसार बाँकी झोलाको पनि दुई साताभित्रै प्रयोग मिति सकिँदैछ ।

‘पहिलो स्टकको म्याद सोमबारै सकियो । पछिल्लो स्टकमा रहेकाको म्याद पनि ३० नोभेम्बरमा सकिँदैछ,’ टिचिङ अस्पतालका उपनिर्देशक डा. प्रेम  खड्काले नागरिकसँग भने । टिचिङमा मात्र मासिक २ हजार ब्याग खपत हुने गरेको तथ्यांक छ ।

दुई साताभित्र आवश्यक ब्याग आपूर्ति हुन नसके सिकिस्त बिरामीको उपचारमा समस्या हुने र बिरामीको ज्यानै जोखिममा पर्ने निर्देशक खड्काले सचेत गराए ।’डिलरले ल्याउन नसकेको जवाफ दिएका छन्, यस्तै स्थिति रहे दुई सातापछि काम ठप्पै हुन्छ,’ उनले भने । यस्तो ब्याग चीनबाट खरिद गएि पनि भारतीय बाटो भएर ल्याउने गरिएकाले नाकामै अड्किएर अभाव खट्केको खड्काले जनाए ।

आफ्नै रक्तसंकलन केन्द्र रहेको प्रसूति गृह अस्पतालले पनि दुई-चार दिनमै रक्तसंकलन ब्याग सकिन लागेको जनाएको छ । ‘डिलरले खोज्छौं भनेका छन् तर बजारमा पाइँदैन,’ केन्द्रका कर्मचारी परशुराम दाहालले भने ।

अस्पतालको भण्डारमा रहेको ब्यागमध्ये सिंगल ब्याग सकिइसकेको गंगालाल हृदयकेन्द्र अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक जोतिन्द्र शर्माका अनुसार रगत संकलन ब्याग सकिँदै गएपछि अस्पतालको नियमित अप्रेसन र क्याथ ल्याबको काम कम गर्दै लगिएको छ ।

अस्पतालमा मुटुका बिरामीका लागि आवश्यक अन्य औषधि भल्ब, शल्यक्रियाको घाउ सिलाउने धागो स्विचरलगायत अत्यावश्यक सामग्री सकिँदै गएको छ । ‘नयाँ आएन भने केही दिनमा ठूलै संकट पर्नेछ,’ निर्देशक शर्माले भने ।

वीरमा पनि ब्याग केही दिनमै सकिन लागेको अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितले जनाए । निर्देशक पण्डितका अनुसार भूकम्पका बेला ल्याइएका ब्यागको क्रमशः प्रयोग अवधि सकिँदै गएको छ । भण्डारण भएका मध्ये केहीको मंगलबारै सकिएको छ भने बाँकीको पनि नोभेम्बर अन्तिममै सकिनेछ ।

‘अब हामीसूग भएका सबै नष्ट गर्ने अवस्थाका मात्र हुनेछन्,’ पण्डितले भने । प्रयोग अवधि सकिन लागेकाले ब्याग केन्द्रीय रक्तसञ्चार केन्द्रसँग माग गर्ने तयारी भइरहेको उनले बताए ।

केन्द्रीय रक्तसञ्चार केन्द्रले चार थरीका रगत संकलन ब्यागमध्ये केही भण्डारणको अवस्थामा रहे पनि धेरै प्रयोग हुने सिंगल ब्याग भने कम संख्यामा रहेको जनाएको छ ।

‘अहिलेसम्म आपूर्तिकर्ताले थोरै–थोरै मात्र दिइरहेका छन्, तर पहिलाजस्तो स्टक छैन,’ केन्द्रका प्रशासकीय अधिकृत विजय अधिकारीले भने । उनका अनुसार केन्द्रमा आपूर्ति हुन लागेका ४० हजार प्याकेट ब्याग पनि वीरगन्ज नाकामै रोकिएको छ ।

केन्द्रमा दैनिक १ हजार ब्याग आकस्मिक अवस्थाका लागि भनी राखिए पनि आपूर्तिकर्ताले दैनिकजसो ५ सयका दरले दिएकाले त्यतिमै काम चलाइएको उनले जानकारी दिए । केन्द्रमा दैनिक ३ सय ब्याग प्रयोग हुन्छ ।

लामो समय आउन नसके ठूलो संख्यामा रगत संकलन गर्नुपर्न अवस्थामा ब्यागकै कारण समस्या पर्न सक्ने अधिकारीले बताए । ‘काम चलेको छ, ठूलो परिमाणमा संकलन गर्नुपर्दा समस्या पर्छ,’ उनले भने ।

केन्द्रका अनुसार रगत चढाउने ट्रान्सफियुजन सेट, रगत चढाउने किट समेत अभाव भएको र आउनु पर्ने सेट सवै वीरगंज नाकामै रोकिएर आउन नसकेको हो । प्रशासकीय अधिकृत अधिकारीका अनुसार आउँदै गरेको ४० हजार ट्रान्सफ्युजन किट नाकामा रोकिएको हो ।

राजधानीमा सबैजसो अस्पतालमा रगत संकलन ब्याग तथा अन्य औषधि सकिँदै गएको राजधानीका ११ अस्पतालका निर्देशकले संयुक्त रुपमा स्वास्थ्यमन्त्री र नेपाल मेडिकल एसोसिएसनलाई सोमबारै भेटेर जानकारी गराएका छन् । मन्त्रालयले यसबारे छिटो प्रक्रियामा जाने आश्वासन दिएको वीरका निर्देशक पण्डितले जानकारी दिए ।

-आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेको समाचार 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *