नाकाबन्दी असर : औषधि अभाव भएपछि अस्पतालले गरे अप्रेसनमा कटौती

operation_0-620x330काठमाडौँ, १ मंसिर 

तीन महिना लामो तराई–मधेस आन्दोलन र करिब दुई महिनादेखिको भारतीय नाकाबन्दीको सबैभन्दा बढी असर स्वास्थ्य क्षेत्रमा परेको छ । अस्पतालले औषधि तथा उपकरणको अभावमा उपचार सेवामा समेत कटौती गर्न थालेका छन् ।

नेपालमा कुल खपत हुने औषधिको ६० प्रतिशत भारतबाट आयात हुने र नाकाबन्दीले ती औषधि आउन नसक्दा उपचार सेवा प्रभावित भएको छ । बाँसबारीस्थित सहिद गंगालाल अस्पतालले आइतबारबाटै दैनिक सर्जरी र क्याथल्याबको काम कम्तीमा २५ प्रतिशतले कमी गरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा. ज्योतेन्द्र शर्माले दैनिक ६–७ वटा अप्रेसन हुने अस्पतालमा अहिले बढीमा चारवटा मात्रै गर्न तथा एन्जिओग्राम र एन्जिओप्लास्टीमा समेत कम गर्न निर्देशन दिएको बताए । उनले अत्यावश्यक औषधि तथा उपकरणको मौज्दात कम हुँदै गएको तथा उपचार सेवालाई निरन्तरता दिनुपर्ने भएकाले शल्यक्रिया तथा क्याथल्याबमा कटौती गरिएको बताए ।

गंगालालकै जस्तो अवस्था त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, परोपकार प्रसूतिगृहले पनि व्यहोरिरहेका छन् । ती अस्पतालले अत्यावश्यक औषधि, शल्यक्रियामा प्रयोग हुने सामग्रीको प्रयोग कम गर्न यस्तो गरिएको स्पष्ट पारेका छन् ।

नेपाल चिकित्सक संघका प्रवक्ता डा. लोचन कार्कीले नाकाबन्दीले भूकम्पका वेलाभन्दा बढी असर गरेको भन्दै मानवीय संवेदना बुझेर भए पनि आन्दोलनरत मधेसी दल, भारत सरकार र नेपाल सरकारलाई गम्भीर हुन आग्रह गरे । उनले देशैभर हर्ट अट्याक, कार्डियाक एरेस्ट हुँदा चलाउने एड्रिनालिन औषधिदेखि सामान्य स्लाइन पानीसमेत अभाव हुँदै गएको जानकारी दिए । ‘सप्लायरले औषधि नाकामा रोकिएको छ भन्छ, यहाँ बिरामीलाई चाहिहाल्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसलाई समयमै सम्बोधन नगरे ठूलो संकट निम्तिन सक्छ ।’

अवरोध नभएका नाकाबाट अत्यावश्यक इन्धन र औषधिभन्दा बढी खाद्यान्न तथा तरकारी भित्रिएको भन्दै चिकित्सकले आलु–प्याज पठाउँदा केही थान औषधिका गाडीलाई पनि छाडिदिए राम्रो हुने बताए । ‘५० वटा खाद्यान्न बोकेका ट्रक छिराउँदा अत्यावश्यक औषधि बोकेका दुईवटा गाडी पनि छिराइदिँदा के बिग्रन्थ्यो ?’ वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले भने, ‘यसतर्फ जोड दिन सरोकारवालालाई आग्रह गर्छु ।’ उनले इन्धन अभावले फोहोर बोक्ने गाडी नगुडेका कारण अस्पतालमा फोहोर थुप्रिएको पनि बताए ।

लाइफ सेभिङ र इमर्जेन्सी औषधि पनि अभाव

चिकित्सकले औषधि ढुवानी व्यवस्था निर्बाध गर्न आन्दोलनरत मधेसी मोर्चा तथा भारत सरकारलाई आग्रह गरेका छन् । लाइफ सेभिङ र इमर्जेन्सी औषधि पनि अभाव भएकाले बिरामीको ज्यान बचाउन नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ ।

औषधिजस्तो अत्यावश्यक वस्तु जुनसुकै उपाय अपनाएर भए पनि उपलब्ध गराउन उनीहरूले सरकारलाई आग्रह गरेका छन् । मधेस आन्दोलन र नाकाबन्दीले स्वास्थ्य क्षेत्रमा पारेको असरबारे जानकारी लिन आइतबार नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रममा चिकित्सकले यस्तो आग्रह गरेका हुन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटुको इमर्जेन्सी अवस्था (हर्टबिट रोकिएको वेला गर्नुपर्ने सिपिआर) लाई चाहिने एड्रिनालिन औषधि नै बजारमा नपाएको जानकारी दिए । उनले आइतबार राति नेपाल मेडिकल कलेजमा ल्याइएको एक बिरामीलाई सो औषधि नभएकाले निकै समस्या देखिएको बताए । ‘अन्तिम अवस्थामा पुगेका बिरामीलाई बचाउने एड्रिनालिनजस्ता थुप्रै औषधिको मौज्दात बजारमा सकिँदै गएको छ । यस्तै अवस्था केही दिन रहे अस्पताल आएका धेरै बिरामी औषधि अभावमा भकाभक मर्ने अवस्था आउँछ,’ डा. कोइरालाले भने । उनले आन्दोलनरत मधेसी दल र भारत सरकारलाई मानवीय संवेदना बुझ्न आग्रह गरे । ‘अधिकारका लागि तपाईंले गरेको आन्दोलन जायज नै होला, तर औषधि रोकेर बिरामी मर्ने अवस्थामा पुर्‍याएर पाउने अधिकारको के अर्थ ?’ कोइरालाले मधेसी दललाई प्रश्न गरे । उनले औषधि रोकेर कुहिने तरकारी पठाउने भारत सरकारको कार्यशैलीप्रति पनि आक्रोश व्यक्त गरे ।

अर्का वरिष्ठ फिजिसियन डा. अर्जुन कार्कीले अहिलेको अवस्था आउनुमा राजनीतिक कारण भए पनि यसबाट सिर्जित मानवीय संकटलाई न्यूनीकरण गर्न चिकित्सकले अन्तर्राष्ट्रिय निकायलाई गुहार्नुपर्ने सुझाब दिए । उनले रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइसिआरसी, संयुक्त राष्ट्रसंघ, अमेरिकन मेडिकल एसोसिएसन, भारतीय मेडिकल एसोसिएसन, बेलायती मेडिकल एसोसिएसनबाट लबिङ थाल्नुपर्ने बताए ।

पाटन अस्पतालका निर्देशक डा. पवन शर्माले औषधिसँगै अस्पताललाई इन्धन संकट परेको भन्दै यसका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताए । ‘हामीले स्टाफ बोक्न, जेनेरेटर चलाउन, खाना पकाउन दैनिक यति इन्धन चाहिन्छ भनेर लिस्ट बुझाएका छौँ, तर सरकारले त्यसको बेवास्ता गर्दै आएको छ । यसलाई अब तत्काल सुल्झाउनुपर्छ,’ शर्माले भने ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले अहिलेको असहज अवस्थाको व्यवस्थापन गर्न राज्यले गर्नुपर्ने काम नगरिरहेको भन्दै स्वास्थ्यबारे गम्भीर हुन सरकारलाई आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा देखिएको असहजता हटाउन संघले पहल गरिरहेको बताए ।

-आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *