अब केयुको बीडीएस टपरले पाउने भए स्वर्ण पदक, डा. बुद्धिमान श्रेष्ठले स्थापना गरे २० लाखको अक्षयकोष

508
Shares

काठमाडौँ, २९ असार ।  काठमाडौँ विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस) मा सर्बोत्कृष्ठ हुने एक जना विद्यार्थीलाई स्वर्ण पदक दिने भएको छ । अहिलेसम्म केयुले एमबीबीएसमा सर्बोत्कृष्ठ हासिल गर्ने छात्र र छात्रालाई स्वर्ण पदक दिने गरेको थियो ।

कान्तिपुर डेन्टल कलेजका सञ्चालक समेत रहेका समाजसेवी तथा युवा उद्यमी डा. बुद्धिमान श्रेष्ठले बीडीएसमा सर्बोत्कृष्ठ स्थान हासिल गर्ने एक जना विद्यार्थीलाई स्वर्ण पदक दिने व्यवस्था मिलाउन २० लाख रुपैयाँको अक्षयकोष स्थापनाका लागि केयुसंग सम्झौँता गरेका छन् । सो पदकको नाम डा बुद्धिमान श्रेष्ठ स्वर्ण पदक रहेको छ ।

शुक्रबार केयुका उपकुलपति प्राडा भोला थापाको उपस्थितिमा केयुका डिन प्राडा मनोज हुमागाईँ र डा श्रेष्ठबीच २० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने सम्झौँता भएको छ ।

त्यसो त डा श्रेष्ठले गत १ पुसमा कान्तिपुर डेन्टल कलेजको १६ औँ बार्षिकोत्सव समारोहमा बीडीएसका एक जना उत्कृष्ठ विद्यार्थीलाई स्वर्ण पदक दिने भन्दै १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए । तर केयुमा अक्षयकोषका लागि कम्तिमा २० लाख रुपैयाँ राख्नुपर्ने नियमका कारण अहिले पूर्वघोषित रकमलाई दोब्बर गरिएको हो ।

‘खासमा बीडीएसका विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर यो अवार्डको लागि योगदान गर्न खोजेको हुँ । कोषमा दाखिला हुने रकमको ब्याजबाट यो अवार्ड दिईनेछ । आगामी दीक्षान्त समारोह देखि नै यो कार्यन्वयनमा आउँछ,’ डा.  श्रेष्ठले भने ।

डा.  श्रेष्ठले एमबीबीएस तर्फका विद्यार्थीहरुले स्वर्ण पदक पाई रहँदा बीडीएस तर्फका विद्यार्थीहरु सो अवसरबाट बन्चित भएको भन्दै आफूले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको बताए । उनले भने, ‘मैले केयुमा अक्षयकोष स्थापना गरिदिने हो । यसको परिचालन र सबै जिम्मा केयुले नै गर्नेछ । यो पैसाले केयु अन्तरगतका कलेजमा बीडीएस पढी सर्बोत्कृष्ठ भएका विद्यार्थीलाई दिईने छ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *