पाल्पा पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा

24
Shares

पाल्पा, २६ असार । पाल्पालाई पूर्णखोप दिगोपना तथा सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा १३ वटा सरुवा रोगहरू विरुद्धका खोपहरू सबै बालबालिकाहरूलाई लगाएपछि पाल्पा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

मंगलबार एक समारोहकाबिच लुम्बिनी प्रदेशका सभामुख तुलराम घर्ती मगर (बसन्त)ले खोप समन्वय समितिका संयोजक टंकनाथ खनाललाई जिल्ला घोषणाको प्रमाण हस्तान्तरण गर्दै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

जिल्लाका १० वटै स्थानीय तहका ८१ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका ३ हजार ३ सय ८ जना बालबालिका र छुट्टै १६ महिना देखि ५ वर्ष मुनिका १० हजार ५ सय ६० जना बालबालिका मध्ये सर्वेक्षण गर्दा भेटिएका ६ जना बालबालिका ड्रप आउट भएकाहरुलाई सबै पूर्ण खोप पाएको सुनिश्चित गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले बताए ।

सरकारले तोकेको सूचकाङ्क पूरा गरेपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको उनले बताए । पाल्पालाई तीन वर्षयता लगातार पूर्ण खोपयुक्त जिल्लाको रुपमा स्थापित गरिएको डा. गिरीले बताए ।

कार्यक्रममा सभामुख घर्तीमगरले घोषणा गर्नु ठूलो कुरा नभई त्यसलाई दिगो बनाइराख्नु महत्वपूर्ण रहेको बताए । उनले स्वास्थ्य क्षेत्र संवेदनशील विषय भए पनि तीनै तहका सरकारको प्राथमिकतामा नपरेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर रानाले घोषणा गर्नुलाई अभियानका रुपमा लिनुपर्ने बताए । अर्का प्रदेशसभा सदस्य खेमबहादुर सारुले शिक्षा र स्वास्थ्य एक अर्कोका परिपूरक भएकाले यी दुवै सुनिश्चितता नहुँदा बसाइँसराइ बढ्दो रहेकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । ।

पाल्पाले विगत ३ वर्षदेखि पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्दै आएको छ। पाल्पा जिल्लालाई २०७० साल फागुन १३ गते नेपालकै पहिलो पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *