केयुको स्कुल अफ आर्टस् को आयोजनामा अन्तराष्ट्रिय सङ्गोष्ठी सम्पन्न

साधारणीकरण सञ्चार–ढाँचा र स्वास्थ्य सञ्चार अभ्यासबीचको सम्बन्धका बारेमा प्रस्तुति
8
Shares

काठमाडौँ, १९ जेठ । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले गत आइतबार ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको आयोजना गरेको छ ।

ललितपुरको हात्तिवनस्थित स्कुल अफ आर्टस् परिसरमा आयोजित सो सङ्गोष्ठीमा नेपाल तथा भारतका विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो ।

भारतस्थित साउथ एशियन युनिभर्सिटीका कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आतिथ्यतामा भएको सो सङ्गोष्ठीमा उद्घाटन सत्रपछि लगातार दुई प्लेनरी सत्र सम्पन्न भए ।

त्यसपछि तीन सभाकक्षमा समानान्तर तीनवटा कार्यक्रमबीच ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो ।

डि–वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय, बियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्र्याक्सिस गरी ६ विधामा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

यसअघि प्लेनरी सेसनमा टु डिकेड्स अफ दि साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड फ्युचर प्रस्पेक्टस तथा साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स गरी दुई विषयमा वृहत् विमर्श गरिएको थियो ।

साधारणीकरण सञ्चार–ढाँचा र स्वास्थ्य सञ्चार अभ्यासबीचको सम्बन्धका बारेमा प्रस्तुति

यसैबीच केयू को स्कूल अफ आर्ट्स अन्तर्गत भाषा तथा आमसञ्चार विभागमा ‘हेल्थ कम्युनिकेशन प्राक्टिसेज’ विषयमा विद्यावारिधि गरिरहेका उपेन्द्र खड्काले ‘साधारणीकरण सञ्चार–ढाँचा र स्वास्थ्य सञ्चार अभ्यासबीचको सम्बन्ध (रिलेशनसिप विटवीन साधरणीकरण मोडल अफ कम्युनिकेशन एण्ड हेल्थ कम्युनिकेशन प्राक्टिसेज)’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

उनले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य सञ्चार अभ्यासहरूको सन्दर्भमा, ‘साधारणीकरण सञ्चार–ढाँचाको प्रयोग गर्न सकिने बताए ।
साधारणिकरणको अर्थ ‘सरलीकरण’ हो । सरलता साधारणिकरणको केन्द्रीय अवधारणाहरूमध्ये एक हो ।

खड्काले साधारणीकरण सञ्चार–ढाँचालाई अनुसरणगरी स्वास्थ्यका गतिविधि गरेको खण्डमा महत्वपूर्ण सूचना तथा जानकारीको प्रवाह गर्न, स्वास्थ्य साक्षरताको प्रवर्द्धन गर्न, स्वास्थ्य व्यवहार परिवर्तनलाई प्रभाव पार्न र स्वास्थ्यसेवासँग सम्बन्धित सार्वजनिक धारणाहरूलाई आकार दिन लाभ मिल्ने बताए । ‘स्वास्थ्य सञ्चारको अभ्यासमा साधारणीकरण सञ्चार–ढाँचा प्रयोग गर्नु लाभदायक हुने देखिन्छ,’खड्काले भने ।

साधारणीकरण सञ्चार–ढाँचाले एक दार्शनिक ढाँचा (फ्रेमवर्क) प्रदान गर्ने र यसले प्रभावकारी स्वास्थ्य सञ्चार अभ्यासहरूको सिद्धान्तहरूसँग राम्रोसँग मेल खाने उनले बताए । ‘यो ढाँचाले सांस्कृतिक संवेदनशीलता, समानुभूति, विश्वास–निर्माण, र सामुदायिक संलग्नतामा जोड दिन्छ’,उनले भने। यस्तो ढाँचाको प्रयोगले व्यक्तिको व्यवहारको परिवर्तनमा सघाउ पुर्याउनले भएकाले गुणस्तरीय स्वास्थ्यमा मद्धत मिल्ने खड्काले बताए ।

स्वास्थ्यकर्मीले सञ्चारको साधारणीकरण सञ्चार–ढाँचा अपनाएको खण्डमा बिरामीको औषधि उपचारमा समेत सहजता हुने, बिरामीलाई सन्तुष्टि बढाउन र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न पनि सहज हुने कार्यपत्र प्रस्तुत गर्दै खड्काले बताए।

स्वास्थ्य सञ्चार अभ्यासमा साधारणीकरण सञ्चार–ढाँचले स्पष्टता, पहुँच, संलग्नता, सांस्कृतिक संवेदनशीलता, र व्यवहार परिवर्तनलाई सहज बनाउन मद्यत मिल्ने भएकाले स्वास्थ्य साक्षरतामा मद्धत मिल्ने विभिन्न वक्ताहरुले धारणा राखेका थिए।

गोष्ठीमा एमिटी विश्वविद्यालय मध्यप्रदेश, भारतको ‘इन्स्टिच्युट, एमिटी स्कुल अफ कम्युनिकेशन’का प्रमुख डा. आदित्य शुक्लाले साधारणीकरण सञ्चार–ढाँचको प्रयोगले स्वास्थ्य सञ्चार अभ्यासमा लाभदायी हुने बताए ।

त्यसैगरी काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेसका प्रा.डा. अजय रिसालले साधारणीकरण सञ्चार–ढाँचाको प्रयोगले मानसिक स्वास्थ्य सञ्चारको अभ्यासमा समेत लाभ मिल्ने बताए ।

सङ्गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ता (की नोट स्पीकर) का रूपमा रुपमा सहभागि थिए ।

भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेश वक्ताका रूपमा सहभागी थिए ।

चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कूल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा. हान हङ र इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्रा. डा. इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राखेका थिए ।

भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकी विभागीय अध्यक्ष डा. शुची यादव लगायतले पनि कार्यक्रममा सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीलाई अभिनन्दन गरिएको थियो । उद्घाटन सत्रमा केयूका उपकुलपति प्रा.डा. भोला थापाले अध्यक्षता गरेको कार्यक्रममा स्कूल अफ आर्टस्की डिन एकुमाया पुनले स्वागत मन्तव्य राखेकी थिईन । समापन सत्रको अध्यक्षता गर्दै केयूका रेक्टर प्रा.डा. अच्युतप्रसाद वाग्लेले मन्तव्य राखेका थिए ।

डा. चन्द्रभानु पट्टनायक, प्रा. त्रिशु शर्मा, डा. भानुभक्त आचार्य, डा. श्रद्धा पुरोहित, प्रा. प्रबलराज पोखरेल र डा. आदित्य शुक्लाले समानान्तर सत्रको अध्यक्षता गरेका थिए । कार्यक्रममा डा. हेमराज काफ्ले, डा. काशिराज पाण्डेय, डा. दिनेश काफ्ले, आभाष राजोपाध्याय, चुनबहादुर गुरुङ, यमबहादुर दुरा, सुदर्शनप्रसाद दाहालले समानान्तर सत्रहरुको सहजीकरण गरेका थिए ।

केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो । उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयहरूले पाठ्यक्रममा समावेश गरी पठनपाठन भराइरहेका छन् । यो सञ्चार ढाँचाबारे स्नातकोत्तर तथा पीएचडी तहका शोधार्थीहरूले समेत अनुसन्धान गरिरहेका छन् ।

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति र त्यस मातहत १० वटा उपसमितिहरू गठन गरिएका थिए ।

कार्यक्रममा स्वदेश–विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायतका प्रस्तोताले साधारणीकरण–सञ्चार ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय सङ्गोष्ठी भौतिक उपस्थिति र भर्चुअल प्रविधि मिश्रित ‘हाइब्रिड मोड’ मा सम्पन्न भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *