धौलागिरी अस्पतालमा थपिँदै डायलाइसिस मेसिन

112
Shares

काठमाडौँ, १ कात्तिक । धौलागिरि अस्पताल बागलुङलाई थप पाँच डायलाइसिस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले अस्पताललाई मेसिन उपलब्ध गराएको हो ।

मिर्गौलाको रोगबाट पीडित बिरामीलाई सहज रुपमा डायलाइसिस सेवा दिनका लागि मन्त्रालयलाई माग गरेपछि उपलब्ध गराएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

उनले धौलागिरि अस्पतालसँगै बागलुङ नगर अस्पताललाई पनि मन्त्रालयलले आवश्यक औषधी तथा उपकरण गराउने बताए । पछिल्लो समय धौलागिरि अस्पतालमा सेवासुविधा सहज रुपमा प्रदान हुन थालेपछि बिरामीको चाप पनि उत्तिकै बढेको हुँदा सेवालाई थप प्रभावकारी बनाउनका लागि आवश्यक उपकरण माग गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।

उनले भने, “बागलुङका धेरै बिरामीहरु पहिले पोखरा काठमाडौँ पुगेर उपचारका लागि लाखौँ खर्च गर्नुपर्ने बाध्यता थियो, तर अहिले त्यो बाध्यता हटेको छ, सेवा लिनेको सङ्ख्या बढेपछि उपकरण बढी आवश्यक पर्ने देखियो, मन्त्रालयमा पुगेर मन्त्रीसँग माग गरेपछि उहाँले पाँच थान डायलाइसिस मेसिन र अन्य उपकरण उपलब्ध गराउनु भएको छ, उहाँ पनि केही दिनमा बागलुङ आएर यहाँको अवस्था बुझ्नु हुने छ ।”

धौलागिरि अस्पताल बागलुङ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले हाल ४० जना मिर्गौला पीडित बिरामीले नियमित सेवा लिइरहेको बताए । दैनिक तीन चरणमा डायलाइसिस सेवा दिने गरेको भन्दै थप पाँचवटा मेसिन सञ्चालनमा आएपछि बिरामीले घण्टौँ कुर्नुपर्ने अवस्थाको अन्त्य हुने डा प्रधानले बताए । अस्पतालमा हाल पाँचवटा डायलाइसिस मेसिन सञ्चालनमा रहेको छ ।

“अहिले हामीसँग पाँचवटा मेसिन सञ्चालित छन्, ती मेसिनबाट बिरामीले दैनिक सेवा लिई राख्नुभएको छ, तर उहाँहरुले अस्पताल आउँदा बित्तिकै सेवा पाई राख्नुभएको छैन, केही बेर ९वेटिङ० गर्नुपर्ने अवस्था छ,” मेडिकल सुपरिटेन्डेन्ट प्रधानले भने, “अब त्यो अवस्था आउने छैन, सेवा थप प्रभावकारी हुने छभने बिरामीले तुरुन्तै सेवा पाउनुहुने छ, बिरामीको गुनासो पनि आउने छैन, हामीहरुले पनि सक्दो चाँडो सेवा दिएर उहाँहरुलाई खुसी बनाउने प्रयास गर्ने छौँ ।”

धौलागिरि अस्पतालमा २०७६ सालदेखि निरन्तर डायलाइसिस सेवा प्रवाह हुँदै आएको डा प्रधानले बताए । पछिल्लो समय अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या पहिलेको तुलनामा करिब दोब्बर भएको अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *