भीभीआईपीहरुले पत्याएनन् कि थाहा पाएनन् वीरको भीभीआईपी कक्ष ?

220
Shares

काठमाडौँ, ३० असोज । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाडो निर्देशनमा गत साउनको दोस्रो साता देखि वीर अस्पतालमा थप दुई भीआईपी र एक भीभीआईपी कक्ष थपियो । त्यसअघि वीरमा एक एक वटा भीआईपी र भीभीआईपी कक्ष थियो । रहेका ती कक्षमा भीआईपी र भीभीआईपीको उपचार भने विरलै हुने गर्दथ्यो ।

भएकै कक्षमा माकुराको जालो लाग्ने अवस्थामा पुगेका बेला मन्त्री बस्नेतले कक्षहरु थप्ने निर्णय गर्दा आलोचना समेत भएको थियो । तर, उनले त्यसलाई सुनेको नसुन्यै गरे । ९ साउन देखि वीरमा थप एक वटा भीभीआईपी र दुईवटा भीआईपी कक्ष थपियो ।

देशका अति विशिष्ठ व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति, प्रधानमन्त्री सभामुख, राष्ट्यिर सभा अध्यक्ष र प्रधानन्यायाधीश सहित छ जना भीभीआईपीमा पर्दछन् । यस्तै मन्त्री तथा सांसद लगायत भीआईपीमा पर्दछन् ।

साउन यता भीआईपी कक्षमा केही सांसदहरुले सेवा लिए, भीभीआईपी कक्षमा गत साता उपराष्ट्रपति रामसहायप्रसाद यादव गएर दुई घण्टा जति उपचार सेवा लिए । तर भर्ना हुने बेलामा भने अन्य अस्पताल रोजे ।

 भीभीआईपीहरु किन गएनन वीरमा ?
गत साउनको ९ गते वीरमा भीभीआईपी र भीआईपी कक्ष थपिदाँ स्वास्थ्य मन्त्री बस्नेतले अब वीरमा उपचार गराउन भिआईपी र भीभीआईपीहरु लर्को लागेरै आउने बताएका थिए ।

तर, उनले भने जस्तो भएन, सुरुका केही दिन केही सांसद तथा प्रदेश मन्त्रीहरु भीआईपी कक्षमा उपचारका लागि गए पनि ती कक्षहरु पुन सुनसान हुन थालेको छ ।

बरु भीभीआईपी र भीआईपीहरुको उपचार अन्यत्रको अस्पतालमा हुन थालेको छ ।

डेंगी संक्रमणमा परेर गम्भीर बिरामी भएका उपराष्ट्रपति रामसहायप्रसाद यादव वीरको भीभीआईपी कक्ष छाडेर नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गरे । गत बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएका उनी स्वास्थ्यमा सुधार आएपछि शनिबार विहान अस्पतालबाट डिस्चार्ज भएको निर्देशक डा विधाननिधी पौडेलले बताए ।

उपराष्ट्रपति यादव सिभिल जानु अघि वीरमा पनि पुगेका थिए । त्यहाँ दुई घण्टा जति बसेर आवश्यक परीक्षण गराएको निर्देशक सन्तोष पौडेलले बताए । ‘सम्माननीय ज्यूको यहाँ प्रयोगशाला तथा एमआरआई लगायतको परीक्षण भएको हो । त्यसपछि सुधार भएर यहाँबाट निस्कनु भएको हो । तर पछि सिभिल अस्पतालमा भर्ना भएको सुनियो,’ उनले भने ।

उपराष्ट्रपति मात्रै होईन भीभीआईपी क्याटोगोरीमा पर्ने अर्का व्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । उनी पनि स्वास्थ्य समस्या हुँदा वीरको भीभीआईपी कक्ष खोज्दैनन् । प्रधानमन्त्री प्रचण्डको मंगलबार (आज) दिउसो देखि अचानक स्वास्थ्य बिग्रियो । तर उनी पनि वीर तिर नलागी सिधै गए नर्भिक अस्पताल । त्यहाँ सम्पूर्ण स्वास्थ्य जाँच गरेपछि अहिले राती नै निवास फर्किन लागेको सचिवालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रीले वीरमा भीभीआईपी कक्ष थप्दै गर्दा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा विभिन्न विधाका १५ जना बरिष्ठ चिकित्सकहरु सम्मिलित टिम बनाएको बताएका थिए । तर त्यो टिम के गर्दैछ कहाँ छ ?अहिलेसम्म देखिएको छैन् ।

‘यो बाहिरका व्यक्तिहरु समेत मिलाएर राखिएको भनेको यो टिम त्यति व्यवहारिक पनि देखिएको छैन् । तत्काल उपचार दिनु पर्ने अवस्थामा टिमको सदस्य कहाँ पुगेको हुन्छ ? कसले कहाँबाट कसरी उपचार गर्ने त्यो बारेमा थाहा पनि हुँदेन । भिभिआईपी टिमको डाक्टर पर्खिदा बिरामीको अवस्था जे पनि हुनसक्छ । त्यसैले अलि नमिलेको हो । अर्को कुरा वीरमा पछिल्लो समय जनशक्तिको पनि समस्या भएको समाचारहरु आइरहेको छ । त्यसैले पनि सम्माननीयहरुको रोजाई नपरेको होला,’ एक जना विशिष्टहरुको उपचार गर्ने टिमका सदस्यले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *