कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप

60
Shares

कर्णाली, २६ असोज । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन् ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरे । सो अवसरमा उनले सिङ्गो प्रदेशलाई पूर्णखोप बनाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।

उनका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ ।

यहाँका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा। रविन खड्काले जानकारी दिए । उनले खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताए ।

कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *